काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा उत्रेका राजावादीहरुले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पोष्टर बोकेर हिडेको विषय विवादित बनेको छ ।
लामो समयसम्म पोखराको बसाईपछि आइतबार काठमाडौँ फर्किएका पूर्वराजा शाहलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर पुगेका उनका सर्मथकहरुले पूर्वराजा र मुख्यमन्त्री योगीको पोष्टर बोकेर पुगेको विषय विवादित बनेको हो ।
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी र पूर्वराजा शाहको ठुलो पोष्टर बनाएर राजसंस्था पुनः स्थापना गरौँ भन्ने नारा सहित राजावादीहरु स्वागत गर्न उपस्थित भएपछि राजावादीहरुको सक्रियतामा मुख्यमन्त्रीको सहयोग रहेको आशंका हुन थालेको छ । पूर्वराजा शाहले पनि पटक पटक मुख्यमन्त्री आदित्यनाथसँग उत्तर प्रदेश पुगेरै भेट गर्ने गरेको तथ्य बाहिरिएको थियोे ।


