Close sidebar

इस्लाम धर्मावलम्बीहरुको रमजान (रोजा) पर्व भोलिदेखि, विशेष नमाज तराबीह आजदेखि सुरु हुँदै

२०८१ फाल्गुन १७ गते, शनिबार १३:४८

मो. अरशद शेष राई✍️
नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान अर्थात एक महिने (रोजा) पर्व भोलिदेखि सुरु हुँदैछ । भने रमजान महिना अवधीभर राति पढिने विशेष नमाज ‘तराबीह’ आजदेखि सुरु हुँदै छ । ईस्लामिक पात्रो अनुसार हिजरी संवतको आठौं महिना शाबानको २९ तारीखका दिन शुक्रबार साँझ नेपाल, भारत लगायत छिमेकी देशहरुमा आकाशमा चन्द्रमा नदेखिएपछि आइतबारदेखि ‘रमजान’ अर्थात (रोजा) पर्व सुरु हुने भएको हो ।

ईस्लामिक पात्रो अनुसार हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा इस्लाम धर्मावलम्बीहरुले एक महिनासम्म दिनभरी निराहार व्रत बसी मस्जिदमा गएर दिनमा पाँच पटक नमाज र धार्मिक ग्रन्थ कुरआन पढ्ने गर्छन् । यसै पवित्र महिना ‘रमजान’मा इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ कुरआन अवतरण भएको थियोे । कुरआन अवतरण भएको खुसीयालीमा इस्लाम धर्मावलम्बीहरुले एक महिने कठोर व्रत अर्थात् रोजा बस्ने गर्छन् ।

सूर्याेदय हुनुभन्दा झन्डै डेढ घण्टा पहिलेदेखि सूर्यास्त नहुन्जेलसम्म जानीजानी थुक पनि निल्नु नहुने मान्यताका साथ रोजा अर्थात व्रत बस्ने गरिन्छ । रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने धार्मिक विश्वास छ । नेपालगन्जको एकलैनीस्थित फुल्वारी मस्जिद (मर्कज)का अनुसार यस पटकको रोजा बिहान ५:२३ देखि बेलुका ६:२० बजेसम्म निराहार बस्नु हो । यो शृङ्खला हरेक दिन भिन्दाभिन्दै समयमा सुरु हुने र अन्त्य हुने धार्मिक अगुवा मुस्तफा कुरैशीले बताउनुभयो ।

बिरामी, वृद्धवृद्धा, असक्त, गर्भवती महिला र बालबालिकालाई निराहार व्रत बस्ने नहुने अर्थात अल्लाहले छुट दिइएको उहाँको भनाई छ । रोजा अर्थात व्रत अवधीभर जानीजानी खानपिन गर्नाले, शक्तिवद्र्धक सुई लिनाले, नशाबाट औषधि प्रवेश गराउनाले अर्थात् स्लाइन चढाउनाले, वीर्य स्खलन गर्नाले र बान्ता निलेमा व्रत (रोजा) अन्त्य (भंग) हुन्छ । तर शरीरमा तेल लगाउनाले, दाँत माझ्नाले, भुलेर खानपिन गर्नाले, स्वप्नदोष हुनाले, बान्ता हुनाले, सुगन्ध वा सेन्ट लगाउँदा भने व्रत (रोजा) भंग हुँदैन ।

इस्लाम धर्मको पाँच स्तम्भमध्ये चार स्तम्भ यस पर्वसँग जोडिएको छ । सोअन्तर्गत, अल्लाहप्रति विश्वास, नमाज, रोजा र जकात पर्छन् । पाँचौँ स्तम्भमा ‘हज’ भनिएको छ ।सूर्योदय हुनुअगावै गरिएको भोजनलाई ‘सहरी’ र सूर्यास्त भएपछि गरिने भोजनलाई ‘इफ्तार’ भन्ने गरिन्छ । इफ्तार परम्परागत रूपमा खजूर खाने र पिउने पानीबाट सुरु हुन्छ ।

रमजान दान, प्रतिदान र क्षमादान माग्ने महिना भएकोले यसलाई सबैभन्दा उत्तम र विशेष महिना मानिन्छ । यो पर्वमा मूलतः दुई कुरालाई महत्त्व दिइन्छ, एउटा निराहार व्रत र अर्को दान वा गरिब–दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । एकातिर यसले आफ्नो शारीरिक शुद्धीकरण नियमपूर्वक अभ्यास गराउँछ भने अर्कोतिर पूण्यको कामप्रति प्रेरित । त्यसैले रमजानलाई पवित्रता र पूण्यको पर्व मानिन्छ ।

रोजा बसेकाले गलत कार्य गर्न नहुने, झुट बोल्नु नहुने, लडाइँ, झगडा गर्नु नहुने लगायत पर्वको कडा नियमभित्र पर्दछन् । रमजान महिनापछि आउने महिनालाई सव्वाल भनिन्छ । यसै सव्वाल महिनाको पहिलो दिन इस्लाम धर्मावलम्बीहरुले ईद-उल-फित्र अर्थात ईद पर्वका रूपमा मनाउने गरिन्छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया