नेपालगन्ज । नेकपा एमालेको भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय महाधिवेशन २०८२ नेपालगन्जमा हुने भएको छ । नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौं केन्द्रीय महाधिवेशन अगामी बैशाख २० र २१ गते आयोजना गरिने भएको हो ।
बिहिवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनबारे जानकारी दिन संगठनका इन्चार्ज तथा एमाले केन्द्रीय सदस्य मो. हारुन हल्वाईले नेपालगन्जमा सम्पन्न हुने महाधिवेशनले सद्भाव र एकताको सन्देश प्रवाह गर्ने बताउनुभयो । संगठनका कोषाध्यक्ष तथा महाधिवेशन तयारी समितिका संयोजक अब्दुल करिम खाँले महाधिवेशन सफल बनाउनका लागि १३ वटा उपसमिति निर्माण गरी क्रियाशील रहेको जानकारी दिए । महाधिवेशनमा ४२ जिल्लाबाट ६ सय प्रतिनिधिको सहभागिता रहने जानकारी दिइएको छ ।
नेपाली मुस्लिम समुदायको पहिचान र अधिकार प्राप्तिको लागि नेकपा एमालेको जनवर्गीय संगठनको रुपमा २०४८ सालमा नेपाल मुस्लिम इत्तेहाद संगठन स्थापना भएको हो । संगठनले मुस्लिम समुदायको पक्षमा पैरवी गर्ने, पक्षधरका विषयमा काम गर्ने, समुदायको हित र अधिकारका लागि वकालत गर्ने र राजनीतिक, सामाजिक, आर्थिक पक्षमा बहसहरु चलाई समुदायका हक अधिकार सदनदेखि सडकसम्म पुर्याउने कार्य पनि गरिरहेको इन्चार्ज हल्वाईले बताए ।
केन्द्रीय महाधिवेशनको नेकपा एमालेका केन्द्रीय अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको उल्लेख गर्दै हारुनले कार्यक्रममा महासचिव शंकर पोख्रेलको उपस्थिति रहने पनि जानकारी दिए । पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य एवम् संघीय सांसद सूर्य ढकालले महाधिवेशन नेपालगन्जमा हुनु गौरवको विषय भएको भन्दै महाधिवेशन सफल बनाउनतर्फ सबै लाग्नुपर्नेमा जोड दिए ।
संगठनका जिल्ला अध्यक्ष मो. सफिक बेहनाको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा अधिवेशनका मिडिया संयोजक शकील अहमद कादरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

