मो. ताहिर शेष राई ( साहिल)
मानपुर । बाँकेको जानकी गाउँपालिकामा पालिकास्तरीय तीन दिने दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता आजबाट शुरु भएको छ । वडा नम्बर-३ स्थित श्री नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालयको खेल मैदानमा बुधबार औपचारिक कार्यक्रमका बिच पालिका अध्यक्ष छब्बन खाँले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।फाल्गुन १४ देखि १६ गतेसम्म सञ्चालन हुने दोस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष खाँले भौतिक पूर्वाधार सँगसँगै शिक्षा, स्वास्थ्य, सामाजिक विकास र खेलकुदमा पनि ध्यान दिएर काम गर्ने बताउनुभयो । उहाँले शिक्षाको अवस्था सुधार्न योजनावद्ध रुपमा अभियान समेत सञ्चालन गरिएको जिकिर गरे ।
१३ वटा टिमको सहभागी रहेका प्रतियोगितामा विजेतालाई नगद रु. चालीस हजार र उपविजेता टोलीलाई नगद रु. बीस हजार र कप प्रदान गरिने शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत कृष्णाकुमारी भण्डारीले जानकारी दिनुभयो ।
जानकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा मानपुरको आयोजना र जानकी गाउँपालिका अध्यक्ष खाँको सभाअध्यक्षमा भएको कार्यक्रममा शिक्षा अधिकृत भण्डारीले स्वागत मन्तब्य गरेकी थिइन्, भने कार्यक्रम सञ्चालन श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय गुरुवागाउँका शिक्षक तारा ब. बिष्टले गरेका थिए ।प्रतियोगिताको उद्घाटन कार्यक्रममा सामाजिक विकास समितिका सँयोजक रामआचल धोवी, जानकीका स्वास्थ्य प्रमुख दल बहादुर राना, शिक्षा शाखाका प्राविधिक सहायक झुमिकुमारी ओली, पालिका अन्तर्गत रहेका विभिन्न शाखाका प्रमुखद्वय, कर्मचारी लगायतको उपस्थिति थियो ।