नेपालगन्ज । आज महाशिवरात्री पर्व आराध्यदेव शिवको पूजाराधना गरी देशभर मनाइँदैछ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनि शास्त्रमा लेखिएको छ । त्यसैले हिन्दू धर्मावलम्बीहरुले महत्वपूर्ण पर्वका रुपमा लिइन्छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड तथा तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धापूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातको नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण तथा ग्रन्थमा वर्णन गरिएको छ ।
यस दिन रातभरि जागा रहेर, भजनकीर्तन गरेर, धुनी बालेर शिवको पूजाआराधना गर्ने चलन छ । कोही भने यस दिन उपवास पनि बस्ने गरेका छन् । बिहानै उठेर नुहाइधुवाई गरी शिवको प्रिय वस्तु शिवलिंगमा दूध, धतुरो र बेलपत्र अपर्ण गरे शिवको पूजा सार्थक हुने हिन्दू मान्यता रहिआएको छ
महाशिवरात्री पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।