Close sidebar

महाकुम्भ मेलाबाट फर्किएका तीर्थयात्रीहरुमा छालासम्बन्धी गम्भीर समस्या

२०८१ फाल्गुन १३ गते, मंगलवार ००:३८

एजेन्सी राँची । प्रयागराजमा आयोजित महाकुम्भ मेलाबाट फर्किएका तीर्थयात्रीहरुमा छालासम्बन्धी गम्भीर समस्या देखिएको छ । राँचीका छाला रोग विशेषज्ञहरूले मेलाबाट फर्किएका व्यक्तिहरूमा चिलाउने, रातो दाग आउने, र्‍यास देखिने तथा ढुसी संक्रमण बढेको बताएका छन् ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड र राष्ट्रिय हरित अधिकरणले हालै सार्वजनिक गरेको प्रतिवेदनमा गंगा र यमुना नदीको पानी अत्यधिक प्रदूषित रहेको उल्लेख गरिएको थियो । यो रिपोर्ट सार्वजनिक भएसँगै राँचीका चिकित्सकहरूकहाँ छालासम्बन्धी समस्याका बिरामीको संख्या अप्रत्याशित रूपमा बढेको छ ।

राँचीस्थित लक्ष्मी क्लिनिकका छाला रोग विशेषज्ञ डा. यशवन्त लालका अनुसार, ‘हाल छालासम्बन्धी संक्रमण, विशेष गरी ढुसीजन्य समस्या भएका बिरामीहरू निकै बढेका छन् । बिरामीहरूले अत्यधिक चिलाउने, रातो दाग आउने तथा संक्रमण फैलने समस्या बताइरहेका छन् । यो मेलाको अस्वस्थकर वातावरण, लामो समयसम्म भिजेको कपडा लगाउनु र साझा शौचालय तथा नुहाउने स्थानको प्रयोगका कारण हुन सक्छ ।’

राँचीको एडलुहाटु निवासी ५७ वर्षीय रञ्जीत कुमारले भने, ‘कुम्भ मेलाबाट फर्किएपछि मेरो शरीरभरि चिलाउने, रातो दाग आउने समस्या देखिएको छ । औषधि खाइरहे पनि समस्या कम हुन धेरै समय लागिरहेको छ ।’ बोर्डले फेब्रुअरी ३ मा एनजीची समक्ष पेश गरेको प्रतिवेदनअनुसार, गंगा र यमुना नदीको पानीमा अत्यधिक कोलिफर्म जीवाणु भेटिएको छ। यो जीवाणु मलमूत्रजन्य फोहोरका कारण फैलिएको बताइएको छ ।

प्रतिवेदनमा गंगामा कोलिफर्मको मात्रा तोकिएको मापदण्डभन्दा १,४०० गुणा र यमुनामा ६६० गुणा बढी रहेको उल्लेख गरिएको छ । जसले गर्दा यी नदीहरूमा स्नान गर्नु स्वास्थ्यका लागि हानिकारक रहेको पुष्टि हुन्छ ।

बोर्डका अनुसार बाहिरी स्नानका लागि पानीमा कोलिफर्मको मात्रा अधिकतम ५०० एकपीएन प्रति १०० मिलिलिटर हुनु पर्ने हो । तर, जनवरी १९ मा गरिएको परीक्षणमा गंगाको पानीमा ७,००,००० एकपीएन प्रति १०० मिलिलिटर र यमुनाको पानीमा ३,३०,००० एकपीएन प्रति १०० मिलिलिटर कोलिफर्म फेला परेको थियो । जनवरी १२, १३, १४, १५ र १९ मा गरिएको परीक्षणले पनि नदीको पानी अत्यधिक प्रदूषित रहेको देखाएको थियो ।

स्वास्थ्य विज्ञहरूका अनुसार, कुम्भ मेलामा लाखौँ मानिसको भीड, उच्च आर्द्रता, सरसफाइको अभाव र दूषित पानीका कारण छालासम्बन्धी समस्या देखिएको हुन सक्छ । गंगाको अत्यधिक प्रदूषित पानीमा स्नान गर्नु नै संक्रमणको प्रमुख कारण हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया