नेपालगञ्ज । बाँकेको चार स्थानमा आजदेखि कार्तिक शुक्ल पूर्णिमा नहान मेला शुरु भएको छ । जानकी गाउँपालिकाको दुई स्थान जोगागाउँ र गुरुवागाँउ तथा डुडुवा गाउँपालिकाको राप्तीनदीस्थित सिधनयाघाट र राप्तीसोनारी गाउँपालिकाको टिकुलीपुर लगायत स्थानमा शुक्रबारदेखि नहान मेला शुरू भएको हो ।प्रत्येक वर्ष पूर्णिमाको अवसरमा लाग्दै आएको पुर्णिमा नहान मेलाको जानकी गाउँपालिका वडा नम्बर २ जोगागाउँस्थित जानकी मन्दिर सगराकुट्टी क्षेत्र र बेलहरीस्थित शिव मन्दिर तथा नागा बाबाकुट्टीमा बर्षौदेखि लाग्दै आएको परमपरागत ऐतिहासिक मेलाको उद्घाटन जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले रिबन काटेर गर्नुभएको हो ।
जानकी गाउँपालिकाले मेला व्यवस्थापन एवं भण्डाराका लागि जोगागाउँ र गुरुवागाउँलाई डेढ- डेढ लाख रुपैया सहयोग स्वरुप दिएको गाउँपालिका अध्यक्ष खाँले बताउनुभयो । गाउँपालिका वडा २ का वडाअध्यक्ष चन्द्रीका प्रसाद गुप्ताले ऐतिहासिक मेलाको संरक्षणका लागि आफूहरूले आवश्यक सहयोग गर्दै आएको बताए ।पुराना मेलाका रूपमा चिनिएका यी मेलामा बाँके, बर्दिया, दाङ, सुर्खेत लगायत विभिन्न स्थानका साथै भारतको रुपईडिहा, बाबागंज, नानपारा, श्रावस्ती, खिरी, लखिमपुर लगायतबाट मानिस आउने गर्छन । मेलामा राति सांस्कृतिक कार्यक्रम समेत हुने गर्दछ ।
मेला मूल समितिका अध्यक्ष दयाराम भुजुवाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य वडा नं. २ का वडाअध्यक्ष चन्द्रीका प्रसाद गुप्ताले राखेका थिए । भने कार्यक्रम सन्चालन मेला समितीका सदस्य शकील अहमद राईले गरेका थिए । यसैबीच पूर्णिमाका दिन राप्ती नदीमा स्नान गर्ने भक्तजनहरुको आज विहानैदेखि घुइँचो लागेको छ ।कार्यक्रममा नेकपा एमाले बाँके क्षेत्र नं. ३ का संयोजक भिम ओली, जानकी गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादव, वडा नं. ३ का अध्यक्ष राज कुमार वर्मा, वडा नं. ५ का अध्यक्ष टिकानाथ यादव, सामाजिक विकास समितीका संयोजक राम अचल धोबी, वडा नं. २ का सचिव कविता रेग्मी, श्री मावि. जोगागाउँ विव्यसका अध्यक्ष रज्जब अली हल्वाई, मेला मूल समितिका पदाधिकारीहरु, नागरिक समाजका अगुवाहरु, सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो ।