नेपालगञ्ज । यातायात व्यवस्था कार्यालयलका लागि आवश्यक जग्गा नेेपालगञ्ज उपमहानगरपालिकाले उपलब्ध गराउने स्पष्ट पारेकाे छ । कार्यालयका लागि जग्गा अभावका कारण काेहलपुर सार्न थालिएकाे सामाजिक संजालमा आएका शन्दर्भमा उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउने यसअघि नै गरेकाे वाचाप्रति प्रतिबद्ध रहेकाे जनाएको छ ।
उपमहानगरपालिकाले मंगलबार एक विज्ञप्ति जारी गर्दै जग्गा अभावका कारण यातायात कार्यालय सर्न थालेकाे भन्दै सामाजिक संजालमा झुठाे प्रचार गरिएकाे भन्दै त्यसमा सत्यता नरहेकाे जनाइएको छ । जारी विज्ञप्तिमा नेपालगञ्ज शहर बाँके जिल्लामा अवस्थित पश्चिम नेपालको प्रवेशद्वार मात्र नभइ नेपालकै नामवाट स्थापना भएको प्रमुख एतिहासिक शहर पनि हो ।
यो शहर पश्चिम नेपालको आर्थिक, शैक्षिक, सामाजिक- सांस्कृतिक, शिक्षा, खेलकुद, स्वास्थ्य लगायतका दृष्टिकोणले बहुआयामिक केन्द्र हो । मुलुक संघीयतामा जादै गर्दा प्रदेश राजधानी हुने दौडमा पछाडी पारिएको नेपालगञ्ज शहर संभावनाको विशाल क्षेत्र हो ।
लुम्विनी प्रदेश मात्र नभएर कर्णाली र सुदुरपश्चिमको ट्रान्जिट प्वाईन्ट नेपालगञ्ज शहरमा रहेका केहि सरकारी कार्यालय अन्य प्रदेश वा जिल्लामा स्थानान्तरण गर्ने नियती भोगिरहेको बेलामा फेरी पनि नेपालगञ्जले आवश्यक जमिन तथा भौतिक संरचना र पूर्वाधार उपलब्ध गराउन खोज्दाखोज्दै गराउन नसकेको भन्ने झुठाे प्रचारवाजी हुनु दुखद विषय हो ।
नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयका लागि आवश्यक जमिन, भौतिक पूर्वाधार र संरचना उपलब्ध गराउन नेपालगञ्ज उपमहानगरपालिका प्रतिवद्ध छ । हाल जुनजुन कार्यालय जहाँजहाँ छन तत् भुगोलमा रहने गरी पूर्वाधारको हिसाबले मजवुत बनाउनको लागि नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो भूमिका र दायित्व सहि ढंगले निभाउने विश्वास दिलाउदछाैं, जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालगञ्ज बाँके जिल्लाको शहर भएका कारण पनि आम जिल्लावासीले अपनत्व महशुस गर्ने गरी सरकारी कार्यालयहरुलाई व्यवस्थित बनाई सेवाप्रवाहमा प्रभावकारीता ल्याउनको लागि नेपालगञ्ज उपमहानगरपालिका प्रयासरत रहेको छ ।
लुम्विनी प्रदेशका माननीय मुख्यमन्त्री ज्यू हाल चीन भ्रमणमा रहनुभएको कारण उहाँ फर्किए लगत्तै मुख्यमन्त्री ज्यू, उद्योग, पर्यटन तथा यातायात मन्त्री ज्यू, जिल्लास्थित माननीय सभासद, राजनितीक दलहरु तथा स्थानीय जनप्रतिनीधी ज्यूहरु लगायत सम्वन्धित सरोकारवालाहरुसँग सघन छलफल गरी यस विषयलाई टुंगोमा पुर्याउने भूमिका निर्वाह गरिने समेत उपमहानगरपालिकाले प्रतिवद्धता जनाएको छ ।
नेपालगञ्जका नगरप्रमुख प्रशान्त विष्ट, नगर उपप्रमुख, कमरुद्धिन राई, नगरप्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष, प्रमोद रिजाल, २१ नम्वर वडा अध्यक्ष राजकुमार साहु, १८ नम्बर वडा अध्यक्ष, दिपक कुमार वर्मा, ४ नम्वर वडा अध्यक्ष गोपाल पुन, २ नम्वर वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ, २० नम्बर वडा अध्यक्ष कौशल कुमार धोवी र कार्यपालिका सदस्य बसन्त कनोजियाले संयुक्त विज्ञप्ति जारी गर्दै यस अभियानमा सकारात्मकरुपले आ-आफ्नो ठाँउवाट भूमिका निर्वाह गरिदिन अपिल गर्नुभएको छ ।