नेपालगन्ज । कालिकोटको पलाता गाउँपालिका – ३ स्थित राडुकाब्रो खोलामा बोलेरो जीप दुर्घटना हँदा ११ जनाको मृत्यु भएको छ । खिनदेखि थिर्पुतर्फ आउँदै गरेको क १ ज ५६ नम्बरको जीप आइतबार दिउँसो सडकदेखि दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटना हुँदा १३ जना गम्भीर घाइते मध्ये ११ जनाको मृत्यु भएको छ, जसमध्ये ६ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । घटनास्थल विकट ठाउँ भएकाले दुर्घटनाका मृतकको पहिचानका लागि समय लागेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
दुर्घटनामा पलाता गाउँपालिका वडा नम्बर ५ का ५१ वर्षीय पदमबहादुर बम, ३० वर्षीया छाया शाही, वडा नम्बर ६ का ५९ वर्षीया दसकला शाही, २५ वर्षीया भगवती रोकाया, ६० वर्षीय गणेश शाही र पलाता वडा नम्बर ३ का ६ वर्षीय बालक दमन रोकायाको मृत्यु भएको प्रहरीले सनाखत गरेको छ ।
घाइतेको नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरी उपचार सुरु भएको प्रहरी नायब निरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।