जनकपुरधाम । प्रत्येक वर्ष धुमधामका साथ मनाइने सप्ताहव्यापी विश्व प्रसिद्ध रामजानकी विवाहपञ्चमी महामहोत्सवको तयारी सुरु भएको छ । महामहोत्सव तयारी तथा व्यवस्थापनका लागि १४ वटा उपसमिति गठन गरेको हो ।
यसवर्ष भगवान रामको जन्मभूमि भारतको अयोध्याबाट जन्तीमा पाँच सयभन्दा बढीको सङ्ख्यामा आउने भएका छन । मङ्सिर १८ गते साँझ जन्ती बाह्र-बिघा रङ्गभूमि मैदानमा आयोजना गरिने धनुषयज्ञमा सहभागी हुने कार्यक्रम तय भएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए । मङ्सिर २१ गते राति जानकी मन्दिरको प्राङ्गणमा मैथिली परम्परानुसार भगवान् राम र माता सीताको प्रतीकात्मक विवाह उत्सव कार्यक्रम हुने बताए ।
आगामी मङ्सिर १६ गते नगर दर्शनबाट सुरु हुने विवाह पञ्चमी महामहोत्सवअन्तर्गत १७ गते फूलबारी लिला, १८ गते धनुषयज्ञ, १९ गते तिलकोत्सव, २० गते मटकोर तथा २१ गते विवाह उत्सव र २२ गते रामकलेवाको कार्यक्रम रहेको छ ।