नेपालगन्ज । गएराति नेपालगन्जमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएपछि कार्वाहीको माग गर्दै पीडित पक्ष आन्दोलनमा उत्रिएका छन । सोमबार बाँके जिल्ला अदालत अगाडि र त्रिभुवन चोकस्थित सडक अवरुद्ध गरि टायर बाली न्यायको माग गर्दै पीडित पक्ष आन्दोलनमा उत्रिएका हुन ।
पीडित पक्षका अनुसार मोटरसाइकल चालकसंग चालक अनुमति पत्र र चालक गम्भीर घाइते रहेको अस्पतालको कुनै कागज पत्र समेत नरहे त पनि प्रहरी र अस्पतालको मिलोमतोमा चालकलाई भारत भगाई अन्याय गरेको आरोप लगाएका छन ।
यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) तुलबहादुर कार्कीले प्रहरीको मिलोमतो नरहेको भन्दै अवस्था बारे चिकित्सकसंग सल्लाह गरि सत्य तथ्य पत्ता लगाई कसैलाई पनि अन्याय हुन नदिन पीडित पक्षलाई आश्वासन दिनुभएको छ ।
आइतबार साँझ नेपालगन्ज – ४ बसपार्क रोड बाइपासबाट गणेशपुरतर्फ जाँदै गरेको भे ६ प ८०२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको ज ३ प ७१७१ नम्बरको मोटरसाइकल मानसरोवर दोहोरी नजिक एक आपसमा ठोकिँदा नेपालगन्ज – ६ डेरा गरी बस्ने २६ वर्षीय अमनकुमार कसौंधन (गुप्ता)को मृत्यु भएको थियोे भने नेपालगन्ज – ११ बस्ने १८ वर्षीय एहसान शेख गम्भीर घाइते भएका थिए ।
घाइते शेखको मुख, आँखा र शरीरमा भित्री चोट लागेकाले उपचार नेपालगन्जस्थित भेरी अस्पतालमा हुन नसकेपछि थप उपचारका लागी लखनऊ लगिएको परिवारलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सो दुर्घटनामा दुवै मोटरसाइकल चालक गम्भीर घाइते भएको र उपचारका लागि नर्सिङ होम नेपालगन्ज बाँकेमा ल्याइएकोमा चिकित्सकले गुप्तालाई आइतबार राति नै मृत घोषणा गरेका थिए ।