नेपालगन्ज । आज यमपञ्चकको तेस्रो दिन, कार्तिक कृष्ण औँसीको साँझ । ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीमाताको पूजाआराधना गरी लक्ष्मीपूजा मनाइँदैछ । कुकुर तिहार पनि आजै परेकाले बिहान कुकुरको पूजा गरिँदैछ ।
तिथिको घटबढले यमपञ्चकको दोस्रो दिन मनाइने कुकुर तिहार पनि यसपटक आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिकाले जनाएको छ । तिहार मंगलबारबाटै शुरु भए पनि तिथि घटबढले कागतिहार बुधबार मात्र मनाइएको थियो।
इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई आज पूजा गरेर मीठो खानेकुरा दिइन्छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरे यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ।
साँझ लक्ष्मीपूजा गर्नुअघि घर सफासुग्घर र लिपपोत गर्नुपर्ने मान्यता छ । सफा नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने विश्वासका आधारमा आज बिहानै घर सफासुग्घर गर्ने चलन छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई उनी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढ्न थालेको छ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ । लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।
आज साँझ महिलाहरुले समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएको र वरदान पाएका बलिराजाले ‘भलो होस्’ भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको विश्वास छ । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको बताउँछन् ।


