नेपालगन्ज । तिहारलाई मध्यनजर गर्दै बाँके प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । भारतसँग सीमानाका जोडिएको बाँके जिल्लामा शान्ति सुरक्षा कायम गर्न दशैं जस्तै तिहारमा पनि सुरक्षा व्यवस्था कडा बनाएको हो । तिहार र दीपावलीको समयमा जुवातास, पटाका आयात गर्ने, पड्काउने र मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने कार्यहरु बढी हुने गरेकोले सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं (डिएसपी) आयुस प्रसाद जोशीले जिल्लाको सुरक्षा व्यवस्था बलियो बनाउन पटाका आयात र पड्काउने तथा जुवातास विरुद्ध विशेष अभियान सञ्चालन गरिएको जनाउँदै देउसी भैलोको पनि समय निर्धारित गरिएको बताउनुभयो । दशैं र तिहारका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले तयार पारेको सुरक्षा योजना अनुसार नै सुरक्षा व्यवस्था मिलाइएको जनाउँदै सोही बमोजिम जिल्लामा करीब एक हजार प्रहरी परिचालन गरिएको (डिएसपी) जोशीले बताए ।
बाँके जिल्ला शान्ति सुरक्षाको हिसाबले निकै संवेदनशील जिल्ला भएको जनाउँदै सोही बमोजिमको सुरक्षा प्रबन्ध मिलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो । अधिकारी रिजालका अनुसार राति १० बजेपछि देउसीभैलो खेल्न निषेध गरिनुका साथै पटाका आयात, बिक्री र पड्काउन समेत रोक लगाइएको र जुवातासमा पनि कडा निगरानी बढाइएको बताए ।