नेपालगन्ज । महिला हिंसा न्यूनिकरणका लागि अन्तरधार्मिक अगुवाहरूको भूमिका बिषयमा मंगलबार अभिमुखिकरण कार्यक्रम गरेको छ । परम्परागत हानिकारक अभ्यासहरू न्यूनिकरणमा धार्मिक अगुवाहरूको भूमिका विषयमा अनौपचारिक कार्यक्रम गरि अभिमुखिकरण गरेको हो ।
अन्तरधार्मिक राष्ट्रिय संजाल (निरन) नेपालको आयोजना र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा धार्मिक अगुवाहरूको भुमिका विषयमा अभुिखिकरण कार्यक्रम गरेका छन । यसैगरी जानकी गाउँपालिका क्षेत्रभित्र महिला हिंसा न्यूनीकरणका लागि विभिन्न धर्मगुरुहरुको उपस्थितिमा पाँच सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ ।
अध्यक्षमा जगदम्बा प्रसाद पाठक, सचिवमा अब्दुल गफ्फार खान, कोषाध्यक्षमा भीम गिरी रहेका छन । भने सदस्यमा अनिस अली इद्रीसी र महिला सदस्यमा विजय लक्ष्मी मिश्रालाई चयन गरेको हो । नयाँ कार्यसमितिले अनुपस्थित अन्तरधर्मका अझै दुई जना व्यक्तिलाई सदस्य चयन गरिने समितिले जनाएको छ ।
महिला हिंसा बिरुद्ध अन्तरधार्मिक राष्ट्रिय संजाल निरक नेपालका जिल्ला अध्यक्ष ओबैदुर-रहमान फलाहीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष रेखा वलीले स्वागत मन्तव्य गरेकी थिइन भने निरक नेपालका कार्यक्रम अधिकृत दिल बहादुर सिंहले संचालन गरेका थिए ।
कार्यक्रममा निरक नेपालका केन्द्रीय सचिव देवी लम्साल, इलाका प्रहरी कार्यालय खजुरा खुद्रका नायव निरीक्षक भुपेन्द्र खत्री, कार्यक्रम व्यवस्थापन अब्दुल गफ्फार खान, विभिन्न धर्मगुरुहरु, शिक्षक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।