सुर्खेत । मोटरबोट सन्चालनका लागि सुर्खेतको विरेन्द्रनगर स्थित बुलबुले ताल धमाधम सफा गरिँदै छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले बुलबुले तालमा मोटरबोट सेवा विस्तार गर्ने भएपछि ताल धमाधम सफा गरिँदै छ । तत्कालका लागि एक करोड रुपैयाँ लागतमा कम्पनीले मोटरबोटको व्यवसायिक सन्चालनको तयारी गरिएको सन्चालक बि.बि. (बिष्णु) ढकालले जानकारी दिए ।
तालमा त्यहाँ घुम्न पुगेका पर्यटकहरुले फालेका सामान तथा जलकुम्भी लगायतका झारले ताल फोहोर बनेको छ । वर्षौंदेखि मृत अवस्थामा रहेको जलकुम्भी लगायतले ढाकिएको ताललाई अहिले बोटेबोराले आफ्नै लगानीमा सरसफाइ गरिरहेको उनले बताए । उनका अनुसार, तालको सरसफाइ सकिएपछि मोटरबोट सन्चालन गर्ने तयारी छ । कम्पनीले बुलबुले तालमा मोटरबोट सन्चालन गरे वापत विरेन्द्रनगर नगरपालिकालाई वार्षिक १३ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले बताए ।
बुलबुले तालमा कम्पनीले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेको ११ सिटे फिस्टेल मोटरबोट सञ्चालन गर्नेछ । यसअघि आँबुखैरेनीको मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशय, नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरत तालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको छ ।
