नेपालगन्ज । प्रहरीलाई चुनौती दिँदै बाँकेमा आज एक जना युवकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ स्थित बिर्तामा आइतबार स्थानीय अन्दाजी २२ वर्षीय युवक अरबी खाँको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सडक छेउको खेतमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।
डिएसपी डाँगीका अनुसार घाँटीमा हतियार प्रहार गरी घाँटी रेटेर खाँको हत्या गरिएको देखिएको छ । खाँको शव पोष्टमार्टमका लागी भेरी अस्पताल नेपालगन्जमा राखिएको जनाउँदै घटना बारे तालिम प्राप्त कुकुर समेत परिचालन गरेर अनुसन्धान थालिएको उहाँले बताए । घटना रातीको समयमा भएपनि प्रहरीले घटनाबारे आइतबार दिनमा मात्रै थाहा पाएको थियो ।
प्रहरीले खाँको मोबाइल र उनका साथीहरूसँग सोधपुछ गरेर हत्याको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ । मृतक अरबी खाँ पूर्व वडाध्यक्ष रञ्जित खाँका नाति भएको खुलेको प्रहरीले जनाएको छ । यस घटनाले बाँकेको सुरक्षा चुनौती माथि गम्भीर प्रश्न समेत खडा भएको छ ।


