काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । सुन प्रकरणमा जोडिएका महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिकाको पकडिबाट नियन्त्रणमा लिई भैरहवाबाट काठमाडौं ल्याएको प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकालले जानकारी दिनुभयो ।
सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरा दोषी रहेको भन्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगको सिफारिस अनुसार महरालाई कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।
महराका छोरा राहुल विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो ।