Close sidebar

प्रचण्ड र ओली दुई–दुई वर्ष सरकारको नेतृत्व गर्ने

२०८० फाल्गुन २२ गते, मंगलवार ०२:०५

काठमाडौं । नयाँ सत्ता गठबन्धनका प्रमुख दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । सो सहमति अनुसार माओवादी केन्द्र र नेकपा एमालेले दुई–दुई वर्ष सरकारको नेतृत्व गर्नेछन् । माओवादी केन्द्रका एक शीर्ष नेताका अनुसार माओवादी केन्द्रका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुको दुई वर्षसम्म सरकार चलाउने छन् । त्यसपछि बाँकी दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् ।

काँग्रेससहितको गठबन्धन भत्काएर नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जनता समाजवादी पार्टी (जसपा)को नयाँ सत्ता गठबन्धन बनेको छ । गठबन्धनका यी चार दलका शीर्ष नेताहरुबीच आठ बुँदे लिखित सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले र उपाध्यक्ष नेकपा एमालेले लिने लगायतका विषय उल्लेख भए पनि सरकारको नेतृत्व आलोपालो गर्नेबारे भने उल्लेख छैन ।

तर माओवादी केन्द्रका एक शीर्ष नेताले भने, ‘एक वर्षसम्म हाम्रो पार्टीका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिसक्नु भएको छ । अब बाँकी चार वर्षमध्ये दुई–दुई वर्ष प्रचण्ड र ओलीले आलोपालो सरकार चलाउने समझदारी भएको छ ।’ केन्द्रको समीकरण र समझदारी अनुसार प्रदेश सरकारमा पनि आलोपालो गर्ने शीर्ष तहमा छलफल भएको छ । प्रचण्ड र ओलीले दुई–दुई वर्ष सरकारको नेतृत्व गर्दा आफूलाई काम गर्न सहज हुने गरी मन्त्रालय लिने विषयमा पनि समझदारी भएको माओवादीका ती नेताले बताए ।

प्रचण्डले नयाँ सत्ता गठबन्धनबाट एमाले, माओवादी केन्द्र र रास्वपाका एक–एक जनालाई मन्त्रिपरिषदमा समावेश गरिसकेका छन् । तत्कालका लागि एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याल गरी तीन जना मन्त्री बनेका छन् । नेकपा एमाले पर्वतका सांसद एवं प्रमुख सचेतक गिरी यसअघि स्वास्थ्यमन्त्री थिए । भने रास्वपाका उपसभापति समेत रहेका अर्याल यसअघि श्रम तथा रोजगारमन्त्री थिए ।

नवनियुक्त तीनै जना मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन । एमाले–माओवादीबीच नयाँ सत्ता गठबन्धनमा वामपन्थी र समाजवादी पक्षधरहरुलाई समेट्दै अघि बढ्ने समझदारी भएको छ । तर राजा र राजसंस्थाको पक्षमा गतिविधि गर्दै आएको राप्रपालाई भने गठबन्धनमा सहमत नगराइने नेताहरुले बताएका छन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया