
नेपालगन्ज । अदालतको आदेशलाई लत्याउँदै ट्राफिक प्रहरीले सडकमा ड्रम राखिएको छ । उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासको आदेश विपरीत जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ लगदहवा चोकस्थित सडकमा ड्रम राखिएको हो ।
बढ्दो सहरीकरणसँगै सडक दुर्घटनाको जोखिम हुन सक्ने भन्दै सडकमा ड्रम राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ । लगदहवा ठाउँमा बढी मान्छेको आवतजावत हुने भएकाले सडक सुरक्षाका लागि ड्रम राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताए ।
‘कार्यविधि र कानुन एक ठाउँमा भए पनि ठाउँको अवस्था हेरेर ड्रम राखिएको हो,’ उनले भने, ‘प्रमुख राजमार्ग भन्दा बजारी क्षेत्रका रुपमा यसरी राखेका छौं ।’ बाइपास र भित्री सडकबाट आउने सवारी साधनले राजमार्गमा आउँदा दुर्घटना हुन सक्ने भएकाले लगदहवामा ड्रम राखिएको उनको भनाई छ ।
सडक दुर्घटना न्यूनीकरण गर्ने अन्य उपाय हुँदाहुँदै पनि सर्वसाधारणको आवागमनलाई असहजता ल्याउने गरी ड्रम राखिएको अधिवक्ता विकास आचार्यले बताए । ‘डिभिजन सडक कार्यालय नेपालगन्ज अगाडि सडकमा राखिएका ड्रम अदालतको फैसला विपरीत हुने गरी राखिएको छ । सवारी साधनको तिव्र गति न्यूनीकरण गर्ने अरु पनि उपाय हुन सक्छ होला, यो मात्र विकल्प होइन । यसको सही व्यवस्थापन अन्य प्रक्रियाबाट गर्न जरूरी छ, तर फैसला विपरीत हुने गरी कुनै निकायले काम गर्न पाउँदैन ।’ उनले भने ।
उच्च अदालत तुल्सीपुर, नेपालगन्ज ईजलासका न्यायाधीश शारंगा सुवेदी र गणेशप्रसाद बरालले २०७४ चैत २८ गते फैसला हुँदा आवागमनमा अवरोध हुने गरी ड्रम समेतका चीज वस्तु नराख्न भनी विपक्षीहरूको नाउमा परमादेशको आदेश जारी भएको थियो ।

