
बर्दिया । नेपाल प्रहरी श्रीमती संघ, लुम्बिनी प्रदेश दाङको आयोजनामा आज नि:शुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाको सहकार्यमा र स्वास्थ्य कार्यालय बर्दिया तथा बर्दिया अस्पताल गुलरियाको प्राविधिक सहयोगमा सोमबार जिल्ला प्रहरी कार्यालय बर्दिया परिसरमा प्रहरी कर्मचारी, प्रहरी परिवार र पुर्व प्रहरी कर्मचारीहरुको लागि नि:शुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको हो ।
नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाण्डौकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायब महानिरीक्षक कुबेर कडायत तथा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशकी अध्यक्ष श्रीमती निलम कडायत लगायत अन्य विशिष्ट अतिथिहरुको सहभागितामा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सन्चालन गरिएको थियोे ।
स्वास्थ्य शिविरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ, कोहलपुर डेण्टल अस्पतालका दाँत रोग विशेषज्ञ, भेरी अस्पतालका छाला रोग विशेषज्ञ, बर्दिया अस्पतालका स्त्री रोग विशेषज्ञ तथा जनरल फिजिशियन र बर्दिया आँखा अस्पतालका आँखा रोग बिशेषज्ञ डाक्टरहरुद्वारा १ सय ६२ जना प्रहरी कर्मचारी र ५२ जना प्रहरी परिवार तथा पुर्व प्रहरी कर्मचारी गरी जम्मा २ सय १४ जनाको नि:शुल्क स्वास्थ्य परिक्षण गरिनुका साथै औषधी समेत वितरण गरिएको थियो ।
शिविरको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुवरले आफ्नो ब्यक्तिगत, पारिवारिक समय नभनि चौविसै घण्टा ड्युटीमा खटिनु पर्ने दायित्व भएकोले प्रहरी कर्मचारी स्वयंले आफ्नो स्वास्थ्य प्रति ख्याल राख्न समय समेत नपाएको र ढिला गरि थाहा हुँदा आफ्नो स्वास्थ्य स्थिती बिग्रिसकेको हुनाले समयमा आफ्नो स्वास्थ्य प्रति सचेत गराउने उद्देश्यले यो स्वास्थ्य शिविर सन्चालन गरिएको बताउनुभयो ।
सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा र जिल्ला प्रहरी कार्यालय बर्दियाको सहकार्यमा बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ पशुपति बजारस्थित पशुपति शान्ति शिवालय सुदामा बृद्ध सत्संग समुह बृद्ध आश्रममा रहेका बृद्ध बृद्धाहरुलाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले दैनिक उपभोग्य खाद्यान्न सामाग्री तथा फलफुल समेत वितरण गर्नुभएको थियो ।
