Close sidebar

दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवार बारे भ्रम फैलाइयो : पूर्वराजा ज्ञानेन्द्र

२०८० माघ १४ गते, आईतवार ०६:५३

वीरगञ्ज / पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवार बारे राजनीतिक झेल गरी भ्रम फैलाइएको बताएका छन । यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि भएको उनले बताएका हुन । वीरगञ्जको लालबंग्लामा शनिबार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले आत्मीय अग्रजहरु गुमाएको अवस्थामा आफूले पुग नपुग ७ वर्ष राष्ट्र प्रमुखको भूमिका निर्वाह गरेको स्मरण गरे ।

अप्ठ्यारो परिस्थितिमा देशको थप बर्बादी नहोस् भन्ने मान्यता राखेर आफूले काम गरेको उनले बताए । दरबार हत्याकाण्डलाई विनाशकारी, कहाली लाग्दो र सम्झन पनि मन नपराउने अवस्था भन्दै पूर्वराजा ज्ञानेन्द्रले भने, ‘राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रो परिवारमाथि घातक प्रहार पनि गरेका थिए ।’

दरबार हत्याकाण्डको प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलका करण अझ पनि मानिसहरु बहकिरहेको भन्दै उनले भने, ‘यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि हो ।’ सम्बोधनका क्रममा उनले २९ जेठ २०६५ मा नारायणहिटी दरबार छाडेको क्षण पनि सम्झिए । त्यसबेला आफूले आमसञ्चार माध्यम मार्फत नेपालमै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्‍याउन चाहन्छु भनेको उल्लेख गरे ।

त्यसबेला नै राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम नरहँदा देशमा विषम परिस्थिति बन्छ र त्यसको वेथितीबाट आम जनतामा आक्रोश पैदा हुन्छ भन्ने आंकलन गरेको भन्दै उनले भने, ‘आज त्यो असन्तोष, चासो, चासो चिन्ता छलाछुल्ल छ ।’ राजपाठ त्याग गर्दैगर्दा आफूले व्यक्त गरेको राष्ट्रप्रेम, राष्ट्रियता, प्रजातान्त्रिक प्रतिवद्धता सम्झिरहेको भन्दै उनले भने, ‘त्यसै आशय अनुरुप मैले चीरकाल र यन्त्र सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिएँ ।’

अहिले पनि आफूहरु देशमै रहेको र गौरब गाथा गाइरहेको पूर्वराजा ज्ञानेन्द्रले बताए । आफ्नो मौलिकता र अस्तित्व गुमाएर, अनि सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन भन्ने आफ्नो अडान रहेको उनले बताए । राज्य व्यवस्था, राजनीति, अर्थ व्यवस्था र सामाजिक दुरबस्थाको राम्रो मूल्यांकन गरेर सबैको सुधार, विकास र निकासको बाटोमा लाग्नुपर्ने उनको जोड छ । देश बनाउन र देश बचाउन आफूहरुलाई निरन्तर आह्वान भइरहेको भन्दै उनले पूर्खाको पौरख नभुल्न र आफ्नो जन्मभूमिका लागि मरिमेट्न सबैलाई आग्रह गरे ।

‘दुःखका साथ भन्नुपर्छ, आज हाम्रो देश हिमाल पहाड तराई सबै उजाड बन्दै खोक्रो भएर चरम दुर्भाग्यको अवस्थातिर खस्किएको छ’, विकास, उत्थान र समस्याको निवारण आफैंले गर्नुपर्ने भन्दै पूर्वराजा ज्ञानेन्द्रले भने ‘यो अवस्थाको अन्त्य गर्नै परेको छ । यसका निम्ति अब सोच्ने बेला आयो ।’ उनले भूगोल, जातजातिमा खण्डित, विभेद, विखन्डन र निषेधको राजनीति नगर्न आग्रह गरे । – अनलाईन खबर

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया