काठमाडौँ / अदनको खाडीमा रहेको समुद्री मार्गमा हुथी विद्रोहीले गरेको आक्रमणका कारण एउटा तेल ट्याङ्करमा आगो लागेको छ । हुथी विद्रोहीले तेल ट्याङ्कर जहाज मर्लिन लुआन्डामा मिसाइल हमला गरेको दाबी गरेका हुन् ।
मिसाइल आक्रमणमा जहाजको कार्गो ट्याङ्कीमा आगो लागेको जहाजका अपरेटर ट्राफिगुराले बीबीसीलाई बताए । अमेरिकी अधिकारीहरूले ट्यांकरलाई एन्टी-शिप ब्यालिस्टिक मिसाइलले आक्रमण गरिएको जानकारी दिएका छन् ।
लाल सागर वरपर व्यापारी जहाजहरूमा हुथी विद्रोहीहरूले गरेको यो पछिल्लो आक्रमण हो । इरान र हमास समर्थक हुथी विद्रोहीहरूले केही समयदेखि लाल सागर र आसपासका क्षेत्रहरूमा व्यावसायिक जहाजहरूमा मिसाइलहरू प्रहार गरिरहेका छन् ।
यो समुद्री मार्ग युरोप र अमेरिकाको लागि महत्त्वपूर्ण आपूर्ति मार्गको रूपमा प्रयोग गरिन्छ । अमेरिकाले यी आक्रमणहरूको जवाफमा आक्रमणहरू सुरु गरेको छ र यदि हुथी विद्रोहीहरूले कारबाही बन्द नगरे थप ठूला आक्रमणहरू हुने चेतावनी दिएको छ । – एजेन्सी