
नेपालगन्ज / जाडो घट्नुको साटो झन बढेपछि नेपालगन्जका विद्यालयहरुमा पुनः दुई दिनको जाडो विदा दिइएको छ । केही दिनयता बाँकेमा शीतलहर, कुहिरो र चिसो हवाका कारण अत्याधिक जाडो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले पुनः भोलि र पर्सी दुई दिन जाडो विदा दिइएको हो ।
अत्याधिक चिसो तथा शितलहरको प्रकोपका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएकोले नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण विद्यालय माघ १५ र १६ गते सम्म जाडो विदा दिइएको शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुखको आदेश अनुसार पालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक, धार्मिक र संस्थागत विद्यालयहरुमा जाडो विदा दिइएको महाशाखा प्रमुख थापाले बताए । यसअघि माघ ४ गते देखि ८ गते सम्म नेपालगन्जका विद्यालयहरुमा जाडो विदा दिइएको थियो ।
यसैगरी बाँकेको डुडुवा, खजुरा र जानकी गाउँपालिकाले पनि पुनः दुई दिनको जाडो बिदा दिएको छ । बाँके जिल्लामा विगत एक महिना देखि निरन्तर शीतलहर चलेपछि बाँकेको जनजीवन थप कष्टकर बनेको छ । दिनदिनै चिसो बढेपछि स्वास्थ्यमा सर्तकता अपानाउन चिकित्सकहरुले अपिल समेत गरेका छन ।
