काठमाडौं / आकाश चन्दले करिअरको उत्कृष्ट बलिङ गरेपछि नेपाल अफगानिस्तानलाई पराजित गर्दै आईसीसी यू-१९ विश्वकपको ‘सुपर सिक्स’मा प्रवेश गर्न सफल भएको छ । ‘सुपर सिक्स’मा पर्नका लागि समूह चरणको जित्नैपर्ने अन्तिम खेलमा नेपालले टस जितेको अफगानिस्तानलाई ४०.१ ओभरमा १४५ रनमा सीमित पार्यो ।
नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो र एक विकेटले खेल जित्यो । समूह ‘डी’ का तीनवटा खेलमा पराजय बेहोरेको अफगानिस्तान ‘सुपर सिक्स’बाट बाहिरियो भने न्यूजील्यान्ड, पाकिस्तान र नेपाल यो समूहबाट माथि उक्लिए । युवा विश्वकप क्रिकेट खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको यो पहिलो पटक हो ।
यो जितसँगै ८ वर्षपछि विश्वकपमा छानिएको नेपालले समूह चरण पार गर्न सफल भयो । अब नेपालले ‘सुपर सिक्स’मा समूह ‘ए’ का प्रतिद्वन्द्वीसँग खेल्ने छ । समूह ‘ए’ मा भारत, बाङ्ग्लादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ‘ए’ बाट बाहिरिने एउटा टोलीको निर्णय हुन बाँकी छ ।
आकाश चम्किए :
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा खेलिएको खेलमा आकाशले शुक्रवार अभूतपूर्व प्रदर्शन गरे । पहिलो ओभरको चौथो बलमा नै गुलशन झाले ब्याटर नुमान शाहलाई दीपक डुम्रेबाट क्याच गराए । त्यसपछि अफगानिस्तानको इनिङस् ध्वस्त पार्ने काम तीव्र गतिका बलर आकाश चन्दले गरे । उनले १.३ ओभरमा खालिद तनिवाललाई विकेटकिपर विपिन रावलद्वारा क्याच गराए ।
त्यसपछि सातौँ ओभरमा अफगानिस्तानका भरपर्दा ओपनर जम्सिद जाद्रानलाई बोल्ड गरे । जाद्रानले एशिया कपको पछिल्लो भेटमा नेपालविरुद्ध शतक बनाएका थिए । उनको तेस्रो सिकार सोहेल खान भए । आठौँ ओभरमा चार रन बनाएर सङ्घर्ष गरिरहेका सोहेललाई आकाशले देव खनालबाट क्याच आउट गराएका थिए । लगत्तै उनले अली अहमदलाई एलबीडब्लूको धरापमा पारेका थिए ।
आकाशले पाँचौँ विकेटको रूपमा हसन इशाखिललाई आउट गरेका थिए । ३५ बलमा २० रन बनाएर खेलिरहेका हसनलाई दीपेश कँडेलबाट क्याच आउट गराएपछि आकाशले मैदानमा ढोगेका थिए । आकाश चम्किएपछि अफगानिस्तानको ११.३ ओभरमा ६ विकेट झरेको थियो र टोली ४३ रनको खराब अवस्थामा पुगिसकेको थियो ।
क्याच ड्रप :
बाह्रौँ ओभरमा मोहम्मद घजनफारले खाता नै खोल्न नपाउँदै जीवनदान पाउनु नेपालको लागि महँगो साबित भयो । आकाशले फ्यालेको बलमा विकेटकिपर विपिन रावलले क्याच फुत्काउन पुगेका थिए । त्यसपछि घजनफारले ३ छक्कासहित २० बलमा ३७ रन बनाएर अप्ठ्यारो स्थितिमा पुगिसकेका अफगान खेलाडीहरूको हौसला बढाउने काम गरेका थिए ।
एक समय सयभन्दा कम रनमा समेटिने छाँट देखाएको अफगानिस्तानका लागि कप्तान नासिर खान र फरिडोन डवडजाईले महत्त्वपूर्ण इनिङस् खेले । यी दुईले आठौँ विकेटका लागि ५५ रनको साझेदारी गरेपछि टोली डेढ सयको नजिक पुग्न सफल भयो । आकाशपछि दीपेश कँडेलले ३ तथा तिलक भण्डारी र सुभाष भण्डारीले १/१ विकेट लिएका थिए ।
देवको साहसिक इनिङ्स :
नेपाललाई जिताउन देव खनालले महत्त्वपूर्ण कप्तानी इनिङस् खेले । ओपनर अर्जुन कुमाल १० रन तथा आशा गरिएका खेलाडी गुलशन झा एक रनमै आउट भएपछि धरमराएको नेपाली इनिङस् उकास्दै कप्तान देव खनालले नेपाललाई जिततर्फ लगे । दुई पटक जीवनदान पाएका देवले एक इन्डमा डटेर खेल्दै नियमित रूपमा रन बटुलेका थिए ।
तीन बल खेलेर चार रन मात्र जोडेको अवस्थामा देवले पहिलो जीवनदान पाएका थिए । ७.५ ओभरमा अफगानिस्तानका बलर मोहम्मद घजनफरले ‘कट एन्ड बोल्ड’ गर्न चुकेका थिए । अर्को पटक उनी रन आउट हुनबाट जोगिएका थिए । त्यसपछि देवले सम्हालिएर खेले । उनले ८९ बलमा ५८ रनको अर्धशतकीय इनिङस् खेले । सो क्रममा उनले ७ चौका प्रहार गरेका थिए ।
नवौँ ओभरमा विपिन रावल आउट भएपछि नेपाल २४-३ को खतरनाक अवस्थामा पुगेको थियो । यो बेला देव र आकाश त्रिपाठीले चौथो विकेटका लागि ४९ रनको साझेदारी गरेर इनिङस् उकासेका थिए । तर २४औँ ओभरमा आकाश आउट भएपछि र त्यसपछि आएका दीपक डुम्रे र दीपेश कँडेल चाँडै आउट भएर नेपाल फेरि दबावमा परेको थियो ।
यस्तो अवस्थामा देवलाई दीपक बोहराले राम्रो साथ दिएपछि नेपाल जिततिर अग्रसर भएको थियो । तर ३६.३ ओभरमा देव विकेट किपर नुमान शाहबाट क्याच आउट भएपछि नेपाल फेरी दबावमा पर्यो । यस्तोमा दीपक बोहराले खेल सम्हाले । उनले ४२ बलमा २७ रन जोडे ।
रोमाञ्चक ४५ औँ ओभर :
पैँतालिस ओभरको खेल निकै रोमाञ्चक खालको भयो । चवालीस ओभरको अन्तिम बलमा आकाश चन्द बोल्ड भएपछि नेपाललाई जितका लागि २ रन चाहिएको थियो भने एक विकेट मात्र बाँकी थियो । यस्तोमा दुवै टोलीका खेलाडीहरू अत्यन्त तनावमा देखिएका थिए ।
तनावको वातावरणमा ४५ औँ ओभरको पहिलो बलमा अरब गिलले पहिलो बल वाइड फाल्न पुगे र खेल टाई भयो । अब नेपाललाई जितको लागि एक रन मात्र चाहिएको थियो । ३५ बल हातमा थियो । यस्तोमा तीन बल डट खेलेपछि सुभाष भण्डारीले विजयी चौका प्रहार गरिदिए । अनि खुसीमा सारा नेपाली खेलाडीहरू मैदानमा दौडिए । – बीबीसी
