
काठमाण्डौं / डिसेम्बर, जनवरी र फेब्रुअरी महिना चिसो हुने र त्यसमा पनि जनवरी महिना सबैभन्दा बढी चिसो हुने मौसमवीद्हरूले जनाएका छन । जनवरी महिना सकिन अझै नौ दिन बाँकी छ । त्यसैले अझै नौ दिन चिसोबाट जोगिन मौसमवीद्हरूले सुझाव दिएका हुन ।
फेब्रुवरीको पहिलो हप्ताबाट चिसो बिस्तारै घट्दै जाने मौसमविद् प्रतिभा मानन्धरले बताइन । ‘तर जनवरी सबैभन्दा चिसो हुने महिना हो’ उनले भनिन । उनका अनुसार यस वर्ष काठमाडौँमा पोहर सालको तुलनामा एक डिग्री बढी न्यानो छ । पोहर साल काठमाडौँमा न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री थियो । यस वर्ष अहिलेसम्म काठमाडौँको मौसम २ दशमलव ५ पुगेको छैन ।
आइतबार र शनिबार बिहान काठमाडौँमा न्यूनतम तापक्रम ३ पुगेको थियो । शनिबार काठमाडौँमा अधिकतम तापक्रम १८ पुगेको थियो । मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिन अनुसार बिहीबार र शुक्रबारको तुलनामा शनिबार र आइतबार काठमाडौँमा न्यूनतम तापक्रम बढेको छ । यसबाट शुक्रबारको तुलनामा शनिबार र आइतबार चिसो बढेको पाइएको छ । बुलेटिन अनुसार शनिबार र आइतबार देशभर सबैभन्दा चिसो जुम्लामा पाइएको छ । जुम्लामा आइतबार बिहान माइनस ६ डिग्री जाडो पुगेको थियो । जुम्लापछि सबैभन्दा चिसो जोमसोममा बढेको पाइएको छ ।
मौसमविद्का अनुसार चिसोयाममा हावाको बहाव कम हुने भएकाले धुलोका मसिना कण (२.५ पिएम) जमिनको सतहमै हावामा टाँसिएर बस्छन्, जसले मानव जीवनमा घातक असर पार्न सक्छन् । तर गर्मीयाममा हावाको बहाव बढी हुने भएकाले धुलोका त्यस्ता कण जमिनको सतहबाट निकै माथि उड्छन् । चिसोयाममा प्रदूषणको जोखिम अत्यधिक बढ्ने भएकाले यसबाट जोगिनुपर्ने वातावरणविद् बताउँछन् ।
