
बर्दिया / प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले ईलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँ बर्दिया परिसरमा नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ । मंगलवार आयोजित एक कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक कडायतले कार्यालय, ब्यारेक, हिरासत कक्ष तथा भान्सा घर लगायतका भवनहरूको उद्घाटन गर्नुभएको हो । उद्घाटन पश्चात् उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभएको थियोे ।
प्रहरी नायव महानिरीक्षक कडायतले भवन निर्माणको कार्यलाई त्रुटीरहित तवरले सम्पन्न गर्ने ईन्द्रधनु अछाम निर्माण सेवा टिकापुरका प्रतिनिधि बाँधुराम चौधरी र लुम्बिनी प्रदेश प्रहरी कार्यालय आवास तथा भौतिक शाखाका प्र.ब.ना.नि. श्याम बहादुर बलायरलाई प्रशंसा-पत्र प्रदान गर्नुका साथै जिल्लाभरी उत्कृष्ट कार्य गर्ने २० जना प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार समेत प्रदान गर्नुभएको छ ।
सो अवसरमा प्रहरी नायब महानिरीक्षक कडायतले स्रोत साधन र संरचनाहरूको अभावमा समेत कुनै सम्झौता नगरी नेपाल प्रहरीले आफ्ना जिम्मेवारी पूरा गर्दै आइरहेको उल्लेख गर्दै नवनिर्मित संरचनाहरूले प्रहरीलाई थप हौसला उर्जा र मनोवलका साथ व्यवसायिक तवरले स्तरीय सेवा प्रवाह गर्न मद्दत मिल्ने विश्वास समेत व्यक्त गरे ।
उद्घाटन कार्यक्रम पश्चात् प्रहरी नायव महानिरीक्षक कडायतले बर्दिया जिल्लामा रहेका प्रहरी कार्यालयका कार्यालय प्रमुख, अन्य प्रहरी अधिकृत तथा प्रहरी जवानहरुलाई शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा आफ्नो व्यवसायिकता प्रदर्शन गर्ने, प्रमाणमुखी अनुसन्धान गर्ने, प्रहरीको आचरण र व्यवहारमा सुधार ल्याउनुपर्ने लगायत विषयमा निर्देशन समेत दिनुभयो ।
