काठमाडौं / दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको छ । युवा ब्याटर अर्जुन कुमालको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल आईसीसी यू–१९ विश्वकपमा पहिलो पटक न्युजिल्यान्डसँग पराजित हुन पुगेको हो ।
न्युजिल्यान्डले दिएको ३ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन बनायो । नेपालका लागि अर्जुन कुमाल शतक बनाउनबाट चुके । १ सय ४ बलमा १२ चौका हानेका अर्जुन ३७/२ ओभरमा ९० रन बनाउँदा क्याच आउट भए । उनले बनाएको ९० रन नै सर्वाधिक रह्यो ।
यस्तै कप्तान कप्तान देव खनाल ३६ रनमा क्याच आउट भए । ओपनर दिपक बोहोरा शुन्य र आकाश त्रिपाटी २ रनमा क्याच आउट भए । सुवास भण्डारी ३३ र तिलक भण्डारी १७ रनमा नटआउट रहे । आकाश चन्दले १४ रन थपे । यस्तै गुल्सन झा २ रनमा क्याच आउट भए । विकेट किपर उत्तम मगर शून्य रनमा आउट भए ।
न्युजिल्यान्डका माट रोवेले ३ विकेट लिए । एवाल्ड ओस्कार ज्याक्सनले समान २–२ विकेट लिए । यस्तै मासोन क्लार्क, ओस्कार ज्याक्सन, ज्याक कुमिन्सले समान एक/एक विकेट लिए । त्यसअघि इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रनको विशाल योगफल बनाएको थियो ।
