
नेपालगन्ज / धार्मिक भावनामा चोट पुर्याउनेलाई कारवाहीको माग गर्दै आज नेपालगन्जमा बिरोध प्रदर्शन गरिएको छ । ईस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद मुस्तफा ﷺ सल्लललाहु अलैही वसल्लमलाई सामाजिक सञ्जालमा अभद्र टिप्पणी (गालीगलौज) गरिएको भन्दै कारवाहीको माग गर्दै मुस्लिम समुदायले नेपालगन्जको त्रिभुवन चोक, विपी चोक लगायत क्षेत्रमा बिरोध प्रदर्शन गरिएको हो ।
बिहिवार मोहम्मद जन्मजयन्ती अर्थात ‘मोहम्मद डे’ को दिन नरैनापुर गाउँपालिका वडा नं. ५ स्थित स्थाई घर भई हाल घोड़दौरिया बस्ने मास्टर तीर्थराम यादवका छोरा ध्रुवराज यादवले आफ्नो Jaarburhd vaday नामक फेसबुक आईडी बाट पैगम्बर हजरत मोहम्मद मुस्तफा ﷺ सल्लललाहु अलैही वसल्लम विरुद्ध अभद्र टिप्पणी (गालीगलौज) गरेका थिए ।
जसको बिरोधमा मुस्लिम समुदायले प्रहरी प्रशासनलाई जानकारी गराउँदा समेत प्रहरी प्रशासनले ती युवकलाई अहिलेसम्म पक्राउ गरेर कार्वाही नगरेपछि आइतबार बिहान करीब १० बजेतिर नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ स्थित वडा प्रहरी कार्यालय अगाडिबाट सुरु गरिएको बिरोध जुलुस जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर प्रमुख जिल्ला अधिकारी विपिन आर्चालाई ज्ञापन पत्र बुझाएर समापन गरिएको वडा नं. ५ का वडा अध्यक्ष सराफत शेषले जानकारी दिए ।
ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी आर्चाले विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु उत्पादन गरी सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रदर्शन गर्ने र धार्मिक आस्था माथि अघात पुग्ने कुनै कार्य नगर्न नगराउन सबैसंग अपिल गर्दै इस्लाम धर्मको आस्था माथि चोट पुग्ने गरी स्टाटस लेख्नेहरु माथि ४८ घण्टा भित्रै विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा चलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अधिकारी आचार्यले धर्म सम्बन्धी विवादमा सभा–जुलुस नगर्न नगराउन सम्बन्धी पक्षहरुसंग आग्रह गर्दै समाजमा सदभाव बिगार्न भूमिका खेल्ने जुन धर्मको जुनसुकै स्तरको व्यक्ति भए पनि नछोडने चेतावनी समेत दिए ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय, बाँकेले धार्मिक सद्भाव कायम राख्न सबैलाई अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले आइतबार एक सूचना जारी गरि कानून विपरित कुनै पनि व्यक्ति, संघ संस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मको विरुद्ध हुने गरी कुनै पनि सामाजिक संजालमा फोटो, लेख, रचना वा अन्य कुनै किसिमको संकेत नगर्न तथा जातीय, धार्मिक सद्भावमा खलल पुर्याउने कानून विपरितका कुनै पनि गतिविधी नगर्न आग्रह गर्नुभएको हो । यदि कोही कसैबाट कानून विपरितका यस्ता गतिविधी भएको पाईएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा प्रचलित नेपालको कानून बमोजिम कडा कारवाही गरिने चेतावनी समेत दिएको बिज्ञप्तिमा उल्लेख छ ।
