
नेपालगन्ज / नेपालगन्ज उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि आज भएको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । नेपालगन्जस्थित रंगशालाको कभर्डहलमा शनिबार विहान करीब सवा आठ बजेदेखि शुरु भएको मतदान बेलुका ५ बजेसम्म चलेको थियोे । संघमा साधारण ४ हजार ७२० र एशोसियट्स १८२, सम्वद्ध २९ गरि जम्मा ४ हजार ९३१ जना मतदाता रहेकोमा ४ हजार १ सय ३२ मत खसेको निर्वाचनमा खटिएका वरिष्ठ अधिवक्ता भोलासिंह हमालले जानकारी दिए । उनका अनुसार निर्वाचनको मतगणना भोलि (आईतवार) बिहान आठ बजेदेखि शुरु हुने छ ।
निर्वाचनमा दुईवटा प्यानलबीच प्रतिष्पर्धा भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा (एमाले), राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी निकटका व्यवसायीहरु आवद्ध रहेको समावेशी प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार रहेका टंक धामी र नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी तथा राप्रपा र स्वतन्त्र पार्टीको एक समुह आवद्ध व्यवसायीहरुको साझा प्रजातान्त्रिक प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार रहेको ललित रौनियार बीच प्रतिष्पर्धा हुने देखिएको छ ।
साझा प्रजातान्त्रिक प्यानलबाट उपाध्यक्ष (उद्योग)मा मोहम्मद सफिक वेहना, उपाध्यक्ष (बाणिज्य)मा विष्णुप्रसाद श्रेष्ठ, उपाध्यक्ष (महिला)मा करिश्मा योगी, महासचिवमा टंकप्रसाद शर्मा, उपमहासचिवमा टेकवहादुर खड्का, कोषाध्यक्षमा मख्खन बहादुर धामी उम्मेदवार रहेका छन् । सदस्यहरुमा शिवप्रसाद दाहाल, सन्तोषकुमार पौडेल, विवेक कुमार श्रेष्ठ, सुनिल भण्डारी, युवराज ढकाल, प्रमोद कुमार अग्रवाल, पदम श्रेष्ठ, कैफुलबरा जोलाह, अतुल कुमार गुप्ता, बलबहादुर विष्ट र एशोसियटमा प्रदिप कुमार गुप्ता र पुरुषोत्तम अग्रवाल उम्मेदवार रहेका छन् ।
समावेशी प्यानलको तर्फबाट उपाध्यक्ष (उद्योग)मा चिरञ्जीवी ओली, उपाध्यक्ष (बाणिज्य)मा हरिलाल न्यौपाने, उपाध्यक्ष (महिला)मा मन्दिरा पाण्डे, महासचिवमा भिम बहादुर रानाभाट, उपमहासचिवमा मदनराज शर्मा, कोषाध्यक्षमा सलाउद्धिन जसगढ उम्मेदवार रहेका छन् । सदस्यहरुमा इन्दिरा कुमारी शाही, टोप बहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज वर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुद्दिन अन्सारी, टिकामणी उपाध्याय, डम्बर चन्द, एशोसियट सदस्यमा कमल कार्की र सञ्जय अग्रवाल र वस्तुगत सदस्यमा फणाधर भण्डारी उम्मेदवार रहेका छन् ।
