
मो. ताहिर शेष राई (साहिल)
नेपालगन्ज / इराकस्थित कर्बलामा युद्धका दौरान शहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा हरेक वर्ष अरेबिक क्यालेन्डर मोहरर्म महिनाको ६ तारीखका दिन निकालिने मेंहदी जुलुस मंगलबार राति नेपालगन्जमा निकालिएको छ । इस्लाम धर्मावलम्बीहरुले या-अली, या-हुसैनको नारा बुलन्द गर्दै मेंहदी जुलुस नगर तथा टोल-टोल परिक्रमा गरिदैँ छ ।
मंगलबार राती करीब १० बजे निकालिएको मेंहदी जुलुस एमपी स्कुल रोड, एकलैनी, कुरैश नगर, अन्सारी टोल, ताँगा स्टैण्ड, भवानी बाग, ईदगाह रोड लगायत परिक्रमा गरि त्रिभुवन चौक पुगेर राति करीब १ बजेतिर सामुहिक मेंहदी मिलान गर्ने कार्यक्रम रहेको केन्द्रिय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिका अध्यक्ष गुलाम हुसैन हल्वाई वारसीले जानकारी दिए ।
मेंहदी मिलानपछि त्रिवेणी मोड र कोठवा पुल परिक्रमा गरेर जुलुस गौसिया मस्जिद हुँदै फुल्टेक्रास्थित कर्बला पुगेर फतिहा दुरूद गरि मेंहदी कार्यक्रम सम्पन्न हुने वारसीले बताए । धार्मिक अगुवाहरुका अनुसार मोहरर्म पर्वको रुपमा नभएर दु:खको महिना भएको बताउँछन् । स्मरणीय रहोस् मुस्लिम समुदायसँगै हिन्दु समुदायले समेत मोहरर्म मनाउँदै आएका छन ।
