नेपालगञ्ज / राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला विपद व्यवस्थापन समिति बाँकेले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले आज एक सूचना जारी गर्दै राप्ती नदीको बहाब एक्कासी बढेर बिहान ११:४० बजे ५.४५ मिटर पार गरेकोले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नु भएको हो ।
राप्ती नदीमा माछा मार्ने, नुहाउने, ओहोरदोहोर गर्ने, दाउरा सङ्कलन गर्ने जस्ता कार्य नगर्न समेत तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । राप्ती नदीको माथिल्लो तटीय क्षेत्रमा पछिल्लो १२ घण्टादेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले दिएको सूचना अनुसार आचार्यले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
जल तथा मौसम विज्ञान विभागले यस बर्ष राप्तीको कुसुमस्थित जल मापन केन्द्रको थ्रेसहोल्ड परिवर्तन गरी सतर्कता तह ६ मिटर र खतरा तह ७/८ मिटर कायम गरेको छ । राप्ती नदीमा पानीले खतरा तह पार गरे राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर तथा डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, बेतहनी, कम्दी लगायत क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेका छन ।
