
नेपालगञ्ज / नेपाली कुस्ती टोलीलाई मंगलबार नेपालगञ्जमा स्वागत तथा सम्मान गरिएकाे छ । चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदको लागि थप तयारी स्वरुप भारतको उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा जान लागेका मुख्य प्रशिक्षक सहित ५ सदस्यीय टोलीलाई स्वागत तथा सम्मान गरिएकाे हो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य तथा भेरी एफएमका स्टेशन प्रमुख माेहम्मद आरिफ अन्सारीले मुख्य प्रशिक्षक मुमताज अली इद्रिसी लगायत महिला खेलाडी शिभांगी दुबे, सुशीला चन्द र पुरुष खेलाडी राज यादव र सुरेश चुनारालाई खादा (गम्छा) लगाएर स्वागत गर्नुभएको छ । चारैजना खेलाडीहरु १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी समेत हुन ।
नेपालगञ्जमा एक साताको प्रशिक्षणपछि खेलाडीहरुकाे टोली उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म प्रशिक्षणमा रहने मुख्य प्रशिक्षक इद्रिसीले जानकारी दिए । खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउँदा आफूहरु साह्रै उत्साहित र खुशी रहेकाे बताए ।
