
मो. ताहिर शेष राई (साहिल)
नेपालगन्ज / शहीदहरुको सम्झनामा हरेक बर्ष मनाइने यादगार-ए हुसैन मोहरर्म आज नेपालगन्जको फुल्टेक्रास्थित स्थानीय कर्बलामा ताजिया बिसर्जन गरि सम्पन्न भएको छ । लब्बैक- लब्बैक, लब्बैक.. या-हुसैनको नारा बुलन्द गर्दै शनिबार नेपालगन्ज लगायत विभिन्न स्थानमा धुमधामका साथ ताजिया बिसर्जन गरि मोहरर्म पर्व सम्पन्न भएको हो ।
सद्भाव र जातीय भाईचाराको संदेश दिंदै सौहार्दको शहर नेपालगन्जमा शुक्रबार राति ताजिया स्थापना गरि रातभरि दुरुद फातिहा गरि खिचडा, बिरयानी, खीर, सरबत लगायत पकवानहरु खुवाइएको थियोे । आज (शनिबार) मोहरर्म १० तारीख अर्थात आसुराका दिन ताजिया बिसर्जन गरि यादगार – ए हुसैन मोहरर्मको सम्पुर्ण कार्यक्रम सम्पन्न भएको केन्द्रिय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिका अध्यक्ष गुलाम हुसैन हल्वाई ‘वारसी’ले बताए ।
इराकस्थित कर्बलामा युद्धका दौरान ७२ जनाले शहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा बर्षैदेखी नेपालगन्जमा हरेक वर्ष अरेबिक पात्रो अनुसार नयाँ वर्ष मोहरर्म महिनाको ५ तारीख ढोल-आलम जुलुस, ६ तारीख मेंहदी जुलुस, ७ र ८ तारीख हुसैनी जुलुस मातम र ९ तारीख ताजिया स्थापना गरि १० तारीखका दिन ताजिया बिसर्जन गरि यादगार- ए हुसैन मोहरर्म सम्पन्न हुने धार्मिक अगुवाहरु बताउँछन् ।
स्मरणीय रहोस् मोहरर्म पर्वको रुपमा नभएर दु:खको महिना भएको धार्मिक जानकारहरु बताउँछन् । मोहरर्म मुस्लिम समुदायसँग-संगै हिन्दु समुदायले समेत मोहरर्म मनाउँदै आएका छन ।
