नेपालगन्ज / बाँकेको जानकी गाउँपालिका वडा नं. ५ स्थित गुरुवागाउँमा आज भीषण आगलागी भएको छ । सोमबार बिहान करीब साढे १० बजेतिर स्थानीय शंकर काँदुको घरमा भीषण आगलागी भएको हो ।
आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी, बारुण यन्त्र तथा स्थानीयको सहयोगमा करीब दुई घण्टापछि आगो नियन्त्रणमा आएको प्रत्यक्षदर्शीले बताए । स्थानीयका अनुसार विद्युतसर्ट भएर आगलागी भएको अनुमान गरे पनि थप यकीन भने हुन सकेको छैन ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा भाडाकुडा जलेर नष्ट भएको र घरको छतमा ठूलो क्षति पुगेको गाउँपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष टिकानाथ यादवले न्युज फ्ल्यास खबरलाई जानकारी दिए । आगलागीमा लाखौँको धनमाल जलेर नष्ट भएपनि कुनै मानवीय क्षति भने हुन नपाएको अध्यक्ष यादवले बताए । 
