Close sidebar

मेक्सिकोबाट नेपाल घुम्न आएका परिवार सोलुखुम्बुमा अस्ताए

२०८० असार २६ गते, मंगलवार १७:४१

काठमाडौं / मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘नाइन एनए–एमभी’ कलसाइनको हेलिकप्टर आज बिहान सवा १० बजे सम्पर्क विहिन भएको केही समयमै सोलुखुम्बुको लिखुपिके गाउँपालिका – ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त भयो । नेपाल प्रहरीका अनुसार दुर्घटनामा परी हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ ।

हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए । उनीसँगै हेलिकप्टरमा सवार उत्तर अमेरिकी मुलुक मेक्सिकोका ५ जना यात्रुको पनि मृत्यु भएको छ । दुर्घटनामा परेका तीन जना महिला र दुई पुरूष एकै परिवारको भएको खुलेको छ । नेपालका लागि मेक्सिकोका मानार्थ महावाणिज्यदूत नरेश दुगडका प्रतिनिधि चिरञ्जीवी भट्टराईका अनुसार दुर्घटनामा मृत्यु हुनेमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् । उनीहरूमध्ये दुई जना आमा-बुवा र तीन जना छोराछोरी हुन् ।

मेक्सिकोबाट भारत घुम्न आउनुभएका उनीहरू आइतबार दिल्लीबाट एयर इन्डियाको जहाजमा काठमाडौं आएका थिए । सोमबार लुक्ला जानुभएका उनीहरू त्यहीँ दिन लुक्लाबाट माउन्टेन फ्लाइट गरेर काठमाडौं फर्किने योजनामा थिए । तर मौसमले साथ नदिएर आज (मंगलबार) मात्रै काठमाडौं आउन लाग्नुभएको थियो । बाटोमै हेलिकप्टर दुर्घटनाग्रस्त भयो । यसरी मेक्सिकोबाट नेपाल घुम्न आएका परिवार सोलुखुम्बुमा अस्ताउनु भएको हो ।

अध्यागमन विभागका अनुसार उनीहरू १५ दिनको भिजिट भिसा लिएर नेपाल आएका थिए । पासपोर्टमा उनीहरूको ठेगाना उत्तरी मेक्सिकोको कोआहुइला र निउभोलियोन उल्लेख छ । यी दुबै ठाउँ अमेरिकाको टेक्सास राज्यसँग जोडिएका छन् । दुर्घटनाबारे दिल्लीस्थित मेक्सिकन राजदूतावासलाई खबर गरिरहेको र समन्वय गरेर शव पठाउने काम गर्ने भट्टराईले बताए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया