काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको ६९ वर्षको उमेरमा आज निधन भएको छ । उपचारको क्रममा बुधबार बिहान ८ बजेर ३३ मिनेटमा उनको निधन भएको नर्भिक अस्पताल थापाथलीका प्राध्यापक डाक्टर युवराज शर्माले जानकारी दिए ।
प्रधानमन्त्री पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल पुर्याइएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर स्वास्थ्य अवस्था सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा उनलाई मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयाघात भएको थियो । पत्नीसँगै प्रधानमन्त्री प्रचण्ड र अन्य विशिष्ट व्यक्तित्वहरु तथा पार्टी कार्यकर्ताहरु पनि नर्भिक अस्पताल पुगेका थिए ।
प्रधानमन्त्री पत्नी सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि १ बजेसम्म पार्टी कार्यालयमा राखिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ । उनको आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिवालयले बताएको छ ।
