नेपालगन्ज / नेपालबाट सयौं नेपाली युवा लड्न रुस जाँदैछन्, यस्ता समाचार धेरै सञ्चारमाध्यममा लेखिएका छन् । आनन्दबजारको बंगला समाचार साइटले पनि आजको यो समाचारलाई लिएर लेखेको छ–पूर्वी युरोपमा झण्डै डेढ वर्षदेखि युद्ध चलिरहेको छ । रुस र युक्रेनबीचको लडाइमा विदेशीहरू पनि सामेल भएका छन् । रुसले विदेशी युवालाई सेनामा प्रयोग गर्न प्रोत्साहन गरेको छ । नेपालीले राष्ट्रपति भ्लादिमिर पुटिनको दाना निल्यो । गत वर्षदेखि धेरै नेपाली रुसी सेनामा भर्ना भएका छन् ।
नेपाली मिडिया नेपाल प्रेसको रिपोर्ट अनुसार सयौं नेपाली युवा पुटिनको सेनामा विशेष उद्देश्यका साथ भर्ना भएका छन् । उनीहरू पुटिनका लागि युक्रेनविरुद्ध युद्ध लडिरहेका छन् । द डिप्लोमेटको रिपोर्ट अनुसार पुटिनले युद्धमा विदेशी युवालाई प्रयोग गरेर सेनालाई बलियो बनाउन केही विशेष प्रस्ताव राखेका छन् । रुसले आफ्नो सेनामा भर्ती भई एक वर्षसम्म लड्ने परिवारलाई रुसमा बस्न दिने बताएको छ । ती विदेशी सैनिकहरूले रुसको स्थायी नागरिकता पाउनेछन्, यससँगै ठूलो रकमको तलब पनि उपलब्ध हुनेछ । नेपाल जस्तो सानो देशको युवा पुस्ता रुसको यो सुनिश्चित भविष्यको चंगुलबाट उम्कन सकेनन् । त्यसैले धेरै युवाहरु देश छोडेर रूस गए । त्यसपछि फेरि रुसमा रहेका नेपाली विद्यार्थी पनि नागरिकताका लागि रुसी सेनामा भर्ना भए ।
रुसी सेनामा भर्ना भएका एक अपरिचित नेपाली युवाले नेपाली प्रेसलाई दिएको अन्तर्वार्तामा आफू रुसी सेनामा भर्ना हुनुअघि तालिम लिएको बताए । त्यो तालिममा उनले पाएको तलब नेपालका सामान्य सरकारी कर्मचारीको तलबभन्दा धेरै गुणा बढी थियो । यो सत्य हो कि युद्धमा ज्यानको जोखिम हुन्छ, तर यो जोखिम नेपालमा कम ज्यालामा वा बेरोजगार भएर बस्नु भन्दा धेरै आकर्षक छ ।
रूसी सेनामा सामेल हुन आउँदा भाषा अवरोधलाई ठूलो समस्या मानिन्थ्यो, तर त्यो पनि भएन । सुरुमा रुसी भाषा सिक्न भनिएको तर पछि त्यो नियम खुकुलो पारिएको नेपाली युवाले बताए । हाल, अंग्रेजी जान्ने भए मात्र रूसी सेनामा भर्ती हुन सक्छ । रूसको लागि युक्रेन युद्धमा शमिल प्रिगोजिनको भाडा सेना वाग्नर हो । धेरैका अनुसार यो वाग्नरमा केही नेपाली युवा पनि छन् । तर, रुसस्थित नेपाली दूतावासले नेपालीहरु रुसी सेनामा भर्ना भएको बारे आधिकारिक जानकारी नभएको जनाएको छ । यस्तो भएको भए पनि दूतावासलाई जानकारी दिएर पनि केही गरिएको छैन ।
– अनुवादक: डा. जैनुल आबेदिन
