
नेपालगन्ज / बज्मे उर्दू नेपालको साहित्यिक कार्यक्रम सफल भएको बताइएको छ । नेपालगन्जस्थित महेन्द्र पुस्तकालयमा शनिबार दिन आयोजना गरिएको बज्मे उर्दू नेपालद्वारा नजौमे अदब (نجومِ ادَب) नामक साहित्यिक आसनको कार्यक्रम सफल भएको बताइएको हो ।
अरशद राही बहराइचीले निर्देशन गरेका उद्घाटन कार्यक्रममा कवि सरबर नेपालीले मन्तव्य राख्दै कार्यक्रम बारे प्रकाश पारेका थिए । शोक नेपाली र असर बहराइचीको अध्यक्षतामा भएको कार्यक्रममा बालबालिकाहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली तथा भारतीय बालबालिकाहरुले गजल तथा कविताहरु समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय इस्लामिक विद्वान, विश्व महासंघको इस्लामिक सेन्टर नेपालका प्रतिनिधि, अन्तर्राष्ट्रिय पत्रकार महासंघ जिल्ला सङ्गठन मन्त्री, लेखक, पत्रकार तथा आठ भाषाका विज्ञ डा. जैनुल आबेदिनलाई विशेष स्वागत गरिएको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै आबेदिनले कार्यक्रमको प्रशंसा गर्नुका साथै आवश्यक परे सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । यस्तै हाजी भोला सिद्दिकीले ८ सवलको सान्दर्भिकता र जन्नत-उल-बाकीको विनाशको बारेमा स्मरण गराए ।
समापन कार्यक्रममा नेपालगन्जका चर्चित कविहरूले पनि आफ्ना कविताहरू प्रस्तुत गरेका थिए । यस कार्यक्रमको विशेष कुरा यो हो कि यसमा हरेक वर्ग, धर्म र उमेरका पुरुष तथा महिलाहरुको सहभागिता रहेको थियो ।
– डा. जैनुल अबेदिन
