
काठमाडौं / नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र युएई फाइनलमा प्रवेश गरेका छन । वर्षाले प्रभावित खेलमा नेपालले कुवेतलाई तथा यूएईले ओमानलाई हराउँदै फाइनलमा प्रवेश गरेका हुन । नेपाल समूह बिजेता भएका आधारमा फाइनलमा पुगेको छ भने युएई डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएर ४२–४२ ओभरमा छोट्याइएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै कप्तान रोहित पौडेलको उत्कृष्ट ९४ रन र कुशल मल्लको उत्कृष्ट ५७ रनको अर्धसतकीय पारीको मद्दतले ९ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन जोड्दा भारी वर्षा सुरु भएपछि खेल रद्द गर्नुपरेको थियो । नेपालका लागि करण केसीले ५ विकेट लिए ।
कुवेतले २० ओभरसम्म नखेलेका कारण डीएल प्रणालीबाट नतिजा दिन नमिल्ने भएका कारण कुवेत र नेपालबीचको खेल अर्थहीन रह्यो । नेपाल एसीसी प्रिमियर कपमा समूह विजेता भएर सेमिफाइनल प्रवेश गरेका आधारमा फाइनलमा पुगेको हो । उता यूएईले भने डीएलएसका आधारमा ओमानलाई २ रनको झिनो अन्तरले हरायो । पहिले ब्याटिङ गरेको यूएईले सबै विकेट गुमाएर २३६ रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको ओमानले ४३ ओभरमा ६ विकेटको क्षतिमा १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो । अब पाकिस्तानमा हुने एसिया कपमा भारत–पाकिस्तानसंग खेल्ने सपना साकार पार्न सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने फाइनल खेलमा नेपालले यूएईको सामना गर्ने छ । कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन् ।
