कहकँशा अन्जुम✍️
नेपालगन्ज / बिगत लामो समयदेखि जिर्ण अवस्थामा रहेको जुँगे महादेवको मन्दिर जाने पुलको पुनः निर्माण हुने भएको छ । सद्भावको सहर नेपालगन्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरभित्र रहेको जुँगे महादेवको मन्दिर जाने पुलको पुनः निर्माण हुने भएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ स्थित बागेश्वरी तालमाथि अवस्थित नेपालको एक मात्र जुँगे महादेवको मन्दिर जाने पुलको पुनः निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिकाले दुई करोड बजेट विनियोजन गरेर बोलपत्र आह्वान गरी काम शुरु भएको जनाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले मन्दिर जाने पुलको पुनः निर्माणका लागि तालको पानी सुकाएर मन्दिर र मूर्ति यथावत् राखेर प्रवेश मार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको बताउनुभयो । उक्त पुलको निर्माण एक वर्षभित्र सम्पन्न हुने गरी काम शुरु गरिएको मेयर बिष्टले बताए ।
