कोहलपुर / बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ स्थित चप्परगौडीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।
कोहलपुरतर्फ जाँदै गरेको भे १२ प ३३९८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आँउदै गरेको भे ११ प ११८१ नम्बरको मोटरसाइकल गएराति पौने १२ बजे एक आपसमा ठोक्किँदा भे १२ प ३३९८ नम्बरका मोटरसाइकल चालक कोहलपुर नगरपालिका – २ का २९ वर्षीय खड्क गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
सोही मोटरसाइकल पछाडि सवार कोहलपुर – २ का २९ वर्षीय राम बहादुर घले र अर्का मोटरसाइकल चालक सुर्खेतको लेकबेसी नगरपालपालिका – ८ का ३८ वर्षीय दल बहादुर सारु घाइते भएका छन् ।
घाइते दुबै जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
