काठमाण्डौ / सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा तीन हप्तामै खारेज गर्ने निर्णय गरेको छ ।
सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा खारेज गर्ने निर्णय गरेको हो ।
वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो ।
आइतबारको बिदा प्रभावकारी नभएको गुनासो आएपछि सरकारले असार १ गतेदेखि लागू नहुने गरी निर्णय लिएको एक मन्त्रीले जानकारी दिए । उक्त बिदा खारेजीको माग गर्दै सोमबार सर्वोच्चमा रिट परेको थियो ।
