नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाको १९औँ गाउँसभा आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२ सालको पुस २९ गतेसम्मको आय–व्यय विवरणसहितको प्रगति प्रतिवेदन सर्वसम्मत रूपमा स्वीकृत गरि गाउँसभा सम्पन्न भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सदस्य सचिव परशुराम उपाध्यायका अनुसार यसअवधिमा गाउँपालिकाको कुल खर्च १४ करोड ४४ लाख ३१ हजार १३५ रुपैयाँ पुगेको जानकारी गराउनु भएको थियो ।
गाउँपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा बुधबार सम्पन्न गाउँसभाले पालिकाका विभिन्न क्षेत्रसँग सम्बन्धित ६ वटा कार्यविधि अनुमोदन गरेको छ । सभामा विकास, सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा पूर्वाधारका विषयमा सक्रिय छलफल भएको थियो ।
वडा नम्बर ५ का अध्यक्ष तथा पालिका प्रवक्ता टिकानाथ यादवले प्रत्येक वडामा स्थानीय धार्मिक आस्था अनुसार अन्त्येष्टि स्थल निर्माणका लागि बजेट विनियोजन गर्न सुझाव दिनुभयो । चालु आर्थिक वर्षभित्र कन्या विद्यालयलाई माध्यमिक (मावि) स्तरमा स्तरोन्नति गर्नेतर्फ पालिकाले विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव थियो । साथै उहाँले स्वास्थ्य संस्थाका लागि आवश्यक आइरन चक्की पालिकाको बजेटबाट खरिद गरी स्वास्थ्य केन्द्रसम्म सहज रूपमा पुर्याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा सामाजिक विकास संयोजक रामअचल धोबीले सहकारी संस्था मार्फत अनुदानमा ९ हजार ९९ बोरा युरिया, ७ हजार ३८१ बोरा डिएपी र १०२ बोरा पोटास मल वितरण गरिएको जानकारी दिनुभयो । कृषकको मागलाई मध्यनजर गर्दै मलको परिमाण थप बढाउनुपर्ने आवश्यकता रहेको धोबीले औँल्याउनुभयो ।
गाउँसभामा वडा नम्बर १ देखि ५ सम्मका वडा अध्यक्षहरू र कार्यपालिका सदस्यहरुले आ–आफ्ना वडाका समस्या र विकासका सुझाव प्रस्तुत गरेका थिए । सबै सुझावहरूलाई समेट्दै नीति तथा कार्यक्रम संशोधनसहित गाउँसभा सर्वसम्मत रूपमा सम्पन्न भएको सूचना प्रविधि (आईटी) अधिकृत विकास जिसीले जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले स्वागत गर्नु भएको गाउँसभामा उठेको सवालहरूलाई सम्बोधन गर्दै पालिका अध्यक्ष खाँले गाउँसभा सम्पन्न गर्नुभएको घोषणा गर्नुभएको थियो । 

