Close sidebar

आज माघे संक्रान्ति र नयाँ वर्षको रुपमा माघी पर्व देशभर मनाउँदै

२०८२ माघ २ गते, बिहीबार ०६:०५

नेपालगन्ज । आज देशभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन । माघ महिनाको पहिलो दिनमा मनाइने यस पर्वलाई मकर संक्रान्ति र माघी पनि भनिन्छ । घिउ, चाकु, तिलको लड्डु, तरुल लगायतका परिकार खाएर मनाइने यो नेपालको प्रमुख चाड मध्ये एक हो ।

यो पर्व पहिले थारू गाउँघरमा मात्र सीमित थियो । अहिले पूर्वी तराई, राजधानी तथा थारूहरू बसोबास गर्ने विभिन्न स्थानसम्म पनि यस पर्वको रौनक देख्न सकिन्छ । यस पर्वको अवसरमा आज विहानैदेखि बाँकेको डुडुवाको सिधनया घाटस्थित राप्ती नदीमा स्नान गर्ने भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । यी ठाउँ र बैजनाथको बैजापुरस्थित भुवरभवानीमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।

आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् ।

भविष्य पुराण, विष्णु वचन तथा धर्म सिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोसिलो हुनुका साथै निरोगी हुने उल्लेख छ ।

संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने मान्यता छ । मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ । महाभारतका अनुसार भीष्मले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोही दिन गंगालाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएको धार्मिक विश्वास छ ।

थारू समुदायले नयाँ वर्षका रूपमा माघी पर्व मनाउँदै :

थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ ।

यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।  राजधानीसहित अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेष रूपमा मनाउँदै छन् । थारू समुदायमा आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा छ ।

आज बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् ।  धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् ।  यस दिनदेखि पाँच दिनसम्म सबैले आफू स्वतन्त्र भएको अनुभव गर्छन् ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग आज गर्दा सफल प्राप्त हुुने विश्वास यो समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ विश्वास गरिन्छ ।

आजकै दिन सबै मिलेर गाउँका मुखिया छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने सबै पदवीको लोकतान्त्रिक विधिबाट निर्वाचन हुन्छ । धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियासहित वर्षभर काम गर्ने पदको छनोट गर्छन् ।

सहमति नहुने स्थानमा भने निर्वाचन हुन्छ । थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । यस प्रथालाई ‘माघी देवानी’ भनिन्छ । थारू समुदायमा विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया