Close sidebar

बरिष्ठ कलाकार निर्मोहीलाई उपचारका लागि सहयोग हस्तान्तरण

२०८२ माघ १ गते, बुधबार १६:२८

नेपालगन्ज । बरिष्ठ कलाकार कमल बिक निर्मोहीको उपचार सहयोगका लागि ५ लाख ६३ हजार ४ सय ७७ रुपैयाँ सहयोग प्रदान गरिएको छ । मृगौला रोगबाट पीडित निर्मोहीको उपचार सहयोगका लागि गठित समितिले सो रकम बरिष्ठ कलाकार निर्मोहीलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा समितिले संकलन गरेको रकम रु ५ लाख ३५ हजार ४ सय ७७, बाँके कला केन्द्रबाट संकलित रकम रु २१ हजार, कमिट नेपालद्वारा रु ५ हजार र अपाँगता अधिकारकर्मी हरिकला थापाद्वारा रु २ हजार गरि जम्मा ५ लाख ६३ हजार ४ सय ७७ रुपैयाँ बरिष्ठ कलाकार निर्मोहीलाई सहयोग गरिएको हो ।

समितिको आयोजनामा आज नेपालगञ्जमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा सो रकमको चेक सहयोग गरिएको हो । समितिका संयोजक बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक शाह लगायत समितिका सदस्यहरुले सो रकमको चेक बरिष्ठ कलाकार कमल बि।के निर्मोही र उनकी धर्मपत्नी हेरम देबि बिश्वकर्मालाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै बरिष्ठ कलाकार कमल बिके निर्मोहीले सहयोगका लागि आभार प्रकट गरे । उनले भने – यो सहयोगम प्रतिको शुभेक्षा सहित मेरो सम्मान हो । कार्यक्रममा बोल्दै समितिका संयोजक बास नेपालका कार्यकारी निर्देशक शाहले २०८२ असोज ३१ गते सहयोग समिति गठन भई समितिको सार्वजनिक आह्वानका साथै बिभिन्न कार्यक्रमहरुबाट संकलित रकम सहयोग गरिएको बताए । समिति उपचार सहयोगका लागि क्रियाशिल रहने उल्लेख गर्दै सहयोग अभियान निरन्तर चल्ने उनले बताए ।

कार्यक्रममा समितिका सदस्य तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, बरिष्ठ कलाकार तथा बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुंग, बरिष्ठ साहित्यकार किरण आचार्य, कमिट नेपालका लेखा अधिकृत गोपाल नेपाली लगायतले निर्मोहीको व्यक्तित्व र सहयोग अभियान बारे बोलेका थिए ।

बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत समितिका सदस्य तथा बरिष्ठ कलाकार जित बहादुर थापाले गरेका थिए भने कार्यक्रमको समापन समिति सदस्य तथा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले गरेका थिए ।
कार्यक्रममा बौद्धिक व्यक्तित्व डा जनाद्र्धन आचार्य, नेपालगञ्ज उद्योग बाणिज्य संघका सदस्य कमल कार्की, बास नेपालका अध्यक्ष शिव कुमार बर्मा, पूर्ब अध्यक्ष रमेश सिटौला, निबर्तमान अध्यक्ष लुना बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।

तीन दशकभन्दा बढी समय नेपाली लोकसंगीत र सञ्चार क्षेत्रमा सक्रिय रहेका उनी बिगत डेढ बर्ष देखि अस्वस्थ छन् । अस्वस्थ भएर नेपालगन्जस्थित आफ्नै घरको ओछ्यानमा निर्मोही सीमित बनेका छन् । सञ्चार र संगित कर्मका माध्यमबाट दर्शक र श्रोतालाई मनोरञ्जन दिने वरिष्ठ रेडियोकर्मी तथा लोकगायक निर्मोही अहिले जीवनकै कठिन अवस्थासँग मुकाबिला गरिरहेका छन् ।

मृगौला रोगबाट पीडित निर्मोहीको हाल डायलाइसिस भईरहेको छ । हप्तामा दुई पटक डायलाइसिस गरिरहेका निर्मोहीको दुबै मृर्गौला फेल भएका कारण नयाँ मिर्गौला प्रत्यारोपण गर्न आवश्यक छ । जसका लागि मिर्गौला दान गर्ने दाता र आर्थिक सहयोग गर्ने दाताहरुको आवश्यकता उनलाई छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया