मो. अरशद शेष राई
बाँके । तीन दिनदेखि बढेको अत्यधिक चिसोका कारण नेपालगन्जको जनजीवन प्रभावित बनेको छ । बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै शीतलहर र चिसो हावा चलिरहेकाले नेपालगन्ज लगायत आसपासका जिल्लाको न्यूनतम तापक्रम घटेर जनजीवन प्रभावित बनेको हो ।
अत्यधिक चिसोले जनजीवनसँगै आवतजावत गर्ने कर्मचारी विद्यार्थी तथा सर्वसाधारणको स्वास्थ्यमा समेत असर पारेको छ । विहानै विद्यालय जाने बालबालिका कठ्याङ्ग्रिने गरेका छन् । हुस्सु, शीतलहर र चिसो हावाले विद्यार्थीलाई विद्यालय जान समेत समस्या भएको छ ।
चिसो बढेसँगै दैनिक ज्याला गरी गुजारा चलाउने मजदुर पनि समस्यामा परेका छन् । चिसो बढेपछि व्यापारीहरु आफ्नो व्यापार व्यावसाय अगाडि आगो बालेर ताप्ने गरेका छन । अत्यधिक चिसोले बिहान र बेलुकाको समयमा हुस्सु र कुहिरोका कारण गाडी चालक पनि समस्या भोग्दै आएका छन् ।
माइक्रो चालक जाबिर शाहका अनुसार हुस्सु लागेर नजिकैको दृश्य देख्न मुस्किल परेकाले सवारी चलाउन जोखिम बढेको छ । “अगाडिदेखि नै गाह्रो हुन्छ, त्यसैले गति कम गरेर बत्ती बालेर सावधानीपूर्वक सवारी चलाउनुपर्ने अवस्था छ”, उनले भने ।
दिनहुँ बढ्दै गरेको चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा गरिब, विपन्न परिवार बढी प्रभावित हुन थालेका छन् । चिसोबाट जोगिन अत्यावश्यक काम पर्दाबाहेक घरबाहिर ननिस्कने, घरभित्रै बस्नुपर्ने, सावधानीपूर्वक आगो ताप्नुपर्ने, उपलब्ध न्यानो कपडा लगाउनुपर्ने र कुनै समस्या देखिए तत्कालै अस्पताल जानुपर्ने चिकित्सकले सुझाव दिएका छन ।


