नेपालगन्ज । अवैध रूपमा सञ्चालनमा रहेका अटो-रिक्सा नियमन गर्न नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रण अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र नेपालगन्ज उपमहानगरपालिकाको संयुक्त पहलमा नेपालगन्जका विभिन्न स्थानबाट अटो-रिक्सा नियन्त्रणमा लिन थालिएको हो ।
यातायात व्यवस्था कार्यालय नेपालगन्जमा दर्ता नभएका र नेपालगन्ज उपमहानगरपालिकामा सूचीकृत नभएका अटो-रिक्सालाई नियन्त्रणमा लिइएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताए ।
मेयर विष्टले नेपालगन्ज बजार क्षेत्रमा आवश्यकता भन्दाबढी अटो-रिक्सा सञ्चालनमा छन्, जसमध्ये धेरैजसो अवैध रूपमा चलिरहेका छन् । उनले जथाभावी सञ्चालनका कारण बजार क्षेत्रमा सवारी दुर्घटना बढ्दै गएको भन्दै अटो रिक्सा नियन्त्रित गर्न अभियान सुरु गरिएको छ ।
उपमहानगरपालिकाले आगामी दिनमा पनि अवैध रूपमा सञ्चालन हुने सवारी साधनमाथि कडाइका साथ कारबाही जारी राख्ने जानकारी दिए ।

