Close sidebar

सहकारी पीडितहरुको लागि आमरण अनशन, फैसला कार्यान्वयनको लडाइँमा पूर्व मेयर गुप्ता

२०८२ पुष २ गते, बुधबार ०३:३९

मो. अरशद शेष राई✍️
बाँके । नेपालगञ्जका पूर्व मेयर तथा वरिष्ठ अधिवक्ता विजय कुमार गुप्ताले सहकारी पीडितहरुको लागि अनिश्चितकालीन आमरण तथा रिले अनशन सुरु गर्नुभएको छ ।

नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका बचतकर्ताको रकम फिर्ताको माग गर्दै पूर्व मेयर गुप्ताले मंगलबार दिउँसोबाट जिल्ला प्रशासन कार्यालय, बाँकेको गेट छेउबाट आमरण तथा रिले अनशन सुरु गर्नुभएको हो ।

पीडित बचतकर्ताको सावा व्याज फिर्ता गराउ र संस्थाको सञ्चालक समिति गठन गर्न विशेष साधारणसभा आह्वान गर भन्ने मागसहित अनशन बस्नु भएको संघर्ष समितिका संयोजक गुप्ताको साथमा अन्य सहकारी पीडित माया पासी, मोती कुमारी शर्मा, रामचन्द्र पासी र जुखी यादव रिले अनशनमा बस्नु भएको हो ।

सहकारी वित्तिय विकास संस्थाका ४१ जना कर्मचारी र सञ्चालकले नै मिलेर ११ हजार भन्दा बढी बचतकर्ताको ४३ करोड दुई लाख ५३ हजार ९५ रुपियाँ हिनामिना गरेकोमा हालसम्म पनि बचत रकम फिर्ता नपाएको भन्दै आमरण अनशन सुरु गरेको पूर्व मेयर गुप्ताले बताउनुभयो ।

पूर्व मेयर गुप्ताका अनुसार सहकारी संस्थाहरु बन्द हुँदा ऋण लिएका तथा बचत गरेका हजारौं सर्वसाधारण गम्भीर समस्यामा परेका छन । धेरैले त लिएका ऋण तिरेर पनि आफ्नो जग्गा–जमिन फुकुवा गराउन नसकेको र बचतकर्ताहरुले निक्षेप रकम फिर्ता नपाएको अवस्था रहेको छ ।

धेरै बचतकर्ताहरू समस्या समाधान कसरी गर्ने भन्ने विषयमा अनभिज्ञ छन्, कतिपयले प्रहरीमा जाहेरीसमेत दिएका छैनन्, जसका कारण रकम फिर्ताको प्रक्रिया नै अघि बढ्न सकेको छैन, पूर्व मेयर गुप्ताले भने । सहकारी पीडितहरूको रकम फिर्ता गराउने उद्देश्यले आफू २०७६ सालदेखि निरन्तर संघर्ष गर्दै आएको उनले बताए ।

सहकारी पीडितको पक्षमा भएको दुई वर्षअघिको फैसला कार्यान्वयन भएको छैन भने सम्बद्ध निकाय अझै संवेदनशिल र जवाफदेही देखिएको छैन । वरिष्ठ अधिवक्ता गुप्ताकै अगुवाइमा न्यायको लडाइँ लडिएको थियो, अहिले फेरि गुप्ता नै फैसला कार्यान्वयनको लडाइँमा हुनुहुन्छ । यो लडाइँ उहाँको मात्रै नभई हामी सबैको हुनु पर्दछ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया