बेलहरी, बाँके । कात्तिक शुक्ल पूर्णिमाको अवसरमा बाँकेका चार स्थानमा स्थानीय मेला सुरु भएको छ । जानकी गाउँपालिका वडा ५, बेलहरीस्थित गुरुवागाउँ मेलामा भेडा जुधाउने ऐतिहासिक परम्परा छ ।
प्रत्येक वर्ष लाग्ने कार्तिक पुर्णिमा अर्थात नहान मेलामा ३० वर्षदेखि नियमित भेडा जुधाउन आउने गरेका नेपालगन्ज उपमहानगरपालिका-१९, वसुदेवपुरका घनश्याम बारी यस वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिन्छन् ।
गुरुवागाउँ मेलामा भेडा जुधाउनका लागि टाढा टाढाबाट समेत स्थानीयले दर्जनौँ भेडा लिएर आउने गर्दछन् । भेडा जुधाइ केवल मनोरञ्जन र परम्परा जोगाउनुका साथै गाउँमा बहादुर भनेर चिनिनका लागि मात्र ल्याउने गरेको स्थानीय साकिर खान बताउँछन् ।
बारीले मेलामा भेडा जुधाउन ल्याउने गरेको ३० वर्ष भयो, भेडा लडाउने एउटा सोख हो, परमपरादेखि यो चलन चल्दै आएको छ, बुढापाकाले चलाएको चलनलाई बचाएर निरन्तरता दिनका लागि हो” । जानकी ६ का सर्नाम खाँले भने, “आफ्नो भेडाले जित्यो भने गाउँमा इज्जत बढ्छ, बहादुर भनेर सबैले चिन्छन् ।”
परापूर्वकालदेखि चलेको भेडा जुधाउने परम्परालाई अहिलेका नयाँ पुस्ताले पनि निरन्तरता दिइरहेको स्थानीय बताउँछन् । भेडा जुधाउन बाँकेका विभिन्न स्थानबाट मानिसहरु मेलामा आउने गरेका छन् । हरेक वर्ष एकसय भेडाको हाराहारीमा भेडाहरु एकापसमा जुधाउने गरिन्छन् ।
मेलामा भेडा जुधाइ बाहेक धार्मिक रामलिला नाटक मञ्चन, मनोरञ्जनात्मक कार्यक्रम नृत्य, भजनकृतन हेर्नुका साथै मन्दिरको दर्शन गर्ने र तलाउमा स्नान गर्नका लागि बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपईडिहा, बाबागञ्ज, नानपारा, श्रावस्ती, खिरी लखिमपुर लगायतबाट हजारौँ दर्शनार्थी मेलामा आउने गरेका छन् । 

