काठमाडौं । ललितपुर महागनरपालिका–१६ धौगलबाट बिहीबार दिउँसो सशस्त्र प्रहरीले ५० किलोबढी चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको घोरसहन पूर्वी चम्पारण घर बताउने ३१ वर्षीय अभिषेख शेखलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट अवैध रूपमा नेपाल ल्याई विभिन्न किसिमका चाँदीका गरगहना बेचबिखन गर्दै आइरहेको भन्ने सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गण ललितपुरले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।
सशस्त्र प्रहरीले उनको साथबाट ५० किलो ७४ ग्राम चाँदीका गहना र १२ लाख ९१ हजार ९० नेपाली रुपैयाँ तथा १ हजार २ सय ७० भारतीय रुपैयाँ बरामद गरेको छ ।
यस्तै चाँदी तौल गर्ने मेसिन १ थान, इलेक्ट्रिक साइकल १ थान, आइप्याड १ थान र मोबाइल सेट १ थान समेत बरामद गरेको छ । उनलाई बरामद सामनसहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।


